काठमाडौं — भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत २०० भन्दा बढी कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार चिलिमे, रसुवागढी, त्रिशूली–३ ए र त्रिशूली–३ बी आयोजनाका कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
श्रेष्ठका अनुसार चिलिमे आयोजनाका करिब १५–२० जना, रसुवागढीका १०० भन्दा बढी, त्रिशूली–३ ए पावरहाउसका ४०–४५ जना र त्रिशूली–३ बीका २०–२५ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्।
बाढीले आयोजनाका संरचनामा समेत ठूलो क्षति पुर्याएकाले पावरहाउस र सुरुङको अवस्था यकिन गर्न कठिन भएको प्राधिकरणले जनाएको छ। सुरुङभित्र मानिस फसेको अवस्था भए अक्सिजन पुर्याउन सकिए उनीहरूको जीवन जोगाउन सकिने सम्भावना रहेको श्रेष्ठले बताए।
बाढीका कारण त्रिशूली करिडोरमा रहेका करिब १४–१५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने झन्डै ४३० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। यद्यपि यसबाट देशभित्रको विद्युत् आपूर्तिमा तत्काल समस्या नहुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले रसुवाको धुन्चे क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न विभिन्न वैकल्पिक उपायबारे छलफल गरिरहेको जनाएको छ।
१२ भाद्र २०८३, शुक्रबार १८:४३