१५ दिने एडभान्स ब्यूटीपार्लर सम्बन्धी तालिम शुभारम्भ

जनतापत्र, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिका–१२ मा १५ दिने एडभान्स ब्यूटीपार्लर सम्बन्धी तालिम शुभारम्भ गरिएको छ। वडा अध्यक्ष दिपेन्द्र प्रसाद नेपालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममार्फत तालिमको औपचारिक उद्घाटन गरिएको हो। स्थानीय महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूलाई आधुनिक ब्यूटीपार्लर सेवा, सौन्दर्य कला तथा व्यावसायिक सीपसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नेपालले महिलाहरूलाई आयआर्जनसँग जोड्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गरे। उनले स्थानीय तहले रोजगार तथा उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको समेत बताए। तालिममा वडाभित्रका महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ भने आगामी दिनमा पनि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

१३ जेष्ठ २०८३, बुधबार १०:०९