जनतापत्र, हेलम्वु ।
हेलम्बु गाउँपालिकामा तीन दिने आधारभूत मौरीपालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमले मौरीपालन व्यवसायमा संलग्न किसानहरूको सीप, ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।
गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा तालिम सञ्चालन गरिएको हो। विशेषगरी लामो समयदेखि मौरीपालन गर्दै आएका तर प्राविधिक ज्ञानको कमी भएका किसानलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो ।
तालिममा मौरीको जीवनचक्र, संरचना, घार व्यवस्थापन, मह उत्पादन प्रक्रिया, मौरीको रोग र कीरा नियन्त्रण, आधुनिक घार प्रयोग तथा बजार व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको थियो ।
सैद्धान्तिक कक्षासँगै व्यवहारिक अभ्यास पनि गराइएको थियो। सहभागीहरूले प्रत्यक्ष रूपमा मौरी घार अवलोकन, गोला व्यवस्थापन तथा सार्ने प्रक्रिया सिक्ने अवसर पाएका थिए ।
कार्यक्रमका क्रममा मौरीको प्रजनन प्रक्रिया, हुल निस्कने अवस्था, गोला विभाजन, तथा परम्परागत र आधुनिक मौरीपालन प्रविधिको तुलनात्मक अध्ययन पनि गराइएको थियो। यसले किसानलाई व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पु¥याएको छ ।
समापन कार्यक्रममा सहभागी किसानलाई आवश्यक उपकरणहरू वितरण गरिएको थियो। टोपी, पन्जा र मौरी झोला जस्ता सामग्री प्रदान गरिँदा उनीहरूलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय कृषकहरूले तालिमलाई निकै उपयोगी बताएका छन्। उनीहरूका अनुसार यस्ता तालिमले उत्पादन वृद्धि, आम्दानी सुधार र व्यवसायिक सोच विकासमा सहयोग पु¥याउँछ ।
गाउँपालिकाले आगामी दिनमा पनि कृषि तथा पशुपालन क्षेत्रका यस्ता तालिम निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ। यसले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
२० बैशाख २०८३, आईतवार ११:२१