सिन्धुपाल्चोकमा भदौ महिनामा ९ मुद्दा दर्ता


सुनिता रखाल,सिन्धुपाल्चोक ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भदौ महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, मुद्दा दर्ता तथा पक्राउसम्बन्धी विवरण सार्वजनिक गरेको छ। कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भदौ महिनामा दर्ता भएका विभिन्न मुद्दा तथा प्रहरीले गरेको अनुसन्धान र कारबाहीबारे जानकारी दिइएको हो।


प्रहरीका अनुसार भदौ महिनामा चोरी तथा डाँका सम्बन्धी कसुर, झुन्डी मृत्यु ज्यान, जबरजस्ती करणी, अभद्र व्यवहार, लागूऔषध सेवन, ठगी तथा बाल यौन दुरुपयोगलगायतका मुद्दा दर्ता भएका छन्।


सार्वजनिक विवरणअनुसार चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ वटा मुद्दा दर्ता भई सबै फछ्र्योट भएका छन्। झुन्डी मृत्यु ज्यानसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी, अभद्र व्यवहार, लागूऔषध, ठगीलगायतका घटनामा पनि प्रहरीमा उजुरी तथा मुद्दा दर्ता भएको जनाइएको छ।
चोरी तथा डाँकाका घटनामा दुई जना पक्राउ
प्रहरीले जिल्लाका विभिन्न स्थानमा घर तथा व्यक्तिबाट नगद, सुनचाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार इन्द्रावती गाउँपालिका–९ का ३३ वर्षीय सञ्जित तामाङ र चोरी गरिएका गरगहनाको स्वरूप परिवर्तन गर्ने गरेको आरोपमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का २३ वर्षीय राजिव विश्वकर्मालाई चोरीका दसीसहित पक्राउ गरिएको हो।
उनीहरूलाई २०८३ असोज ९ गते पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा सम्मानित अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाँजासहित दुई जना पक्राउ


त्यस्तै, प्रहरीले मेलम्ची क्षेत्रमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ भदौ २३ गते राति करिब ११ः४५ बजे मेलम्ची नगरपालिका–१२ स्थित हेलम्बु–मेलम्ची सडकखण्डमा चेकजाँच गर्ने क्रममा झोला भित्र लुकाएर राखिएको १ किलो गाँजा बरामद भएको थियो।
घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ का २७ वर्षीय महेश ढकाल र उनका साथी सुनसरी धरान उपमहानगरपालिका–१८ का ३० वर्षीय आशिष शेर्पाली पक्राउ परेका हुन्। उनीहरूविरुद्ध लागूऔषध गाँजा कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवैध काठसहित दुई जना नियन्त्रणमा
प्रहरीले अवैध रूपमा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा गरेको चेकजाँचबाट ठूलो परिमाणमा काठसमेत बरामद गरेको छ।
२०८३ भदौ ५ गते दिउँसो करिब ४ बजे मेलम्ची नगरपालिका–५ भदौरेस्थित बाहुनेपाटी–पिप्ले सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका–३ का २२ वर्षीय लाप्चा तामाङले धुन्सीचौरबाट पिप्ले–बाहुनेपाटीतर्फ लैजाँदै गरेको काठ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकमा २०६ गोलिया काठ लोड गरिएको अवस्थामा फेला परेको थियो। काठको स्रोत तथा ओसारपसारसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न चालक, काठ र सवारी साधन नियन्त्रणमा लिई डिभिजन वन कार्यालय सिन्धुपाल्चोकसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको छ।
बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद
यसैगरी, प्रहरीले भोटेकोशी गाउँपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका–४ अन्थलीमा बस्ने ६० वर्षीय काली तामाङको गोठबाट करिब दुई किलोमिटर दक्षिण मेक्लारी क्षेत्रमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी चौकी हिन्दीबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले खोजतलास गर्दा एक थान भरुवा बन्दुक बरामद गरेको हो। बरामद बन्दुक बाह्रबिसे प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय चोरी, लागूऔषध, अवैध काठ ओसारपसार, हातहतियारलगायतका गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। प्रहरीका अनुसार अपराध नियन्त्रणसँगै घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही र अनुसन्धानलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले सार्वजनिक गरेको विवरणले सिन्धुपाल्चोकमा भदौ महिनामा विभिन्न प्रकृतिका अपराधका घटना प्रहरीको अभिलेखमा आएको देखाएको छ। प्रहरीले नागरिकलाई शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिनसमेत आग्रह गरेको छ।

२ आश्विन २०८३, शुक्रबार १४:१०