सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटनाग्रस्त, एक विदेशीको ज्यान गयो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर दुर्घटनामा पर्दा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। घटनामा एक विदेशी नागरिकले ज्यान गुमाएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएका एक यात्रुलाई प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला पुर्‍याइएको छ।

दुर्घटनामा परेका हेलिकप्टरमा अन्य कति यात्रु तथा चालक दलका सदस्य सवार थिए भन्ने विवरण पनि सार्वजनिक भएको छैन। घाइतेको अवस्थाबारे समेत थप जानकारी आउन बाँकी छ।

हिमाली क्षेत्रमा भएको दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप विवरण संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ।

१८ कार्तिक २०८३, मंगलवार ०९:५१