नेपाली कांग्रेसको संस्थापन इतर समूहले सिन्धुपाल्चोकमा गरेको जिल्ला अधिवेशनबाट बालकृष्ण बस्नेत जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन्। सोमबार बाह्रबिसेमा सम्पन्न अधिवेशनले बाह्रबिसे नगरपालिकाका मेयरसमेत रहेका बस्नेतलाई प्रतिस्पर्धाबिनै सभापतिको जिम्मेवारी दिएको हो।
नवनिर्वाचित सभापति बस्नेत कांग्रेस नेता तथा संस्थापन इतर समूहका केन्द्रीय प्रतिनिधि मोहनबहादुर बस्नेतका भाइ हुन्। अधिवेशनबाट निराजन चौलागाईं सचिवमा निर्वाचित भएका छन्।
जिल्ला अधिवेशनको उद्घाटन कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका थिए। पार्टीको संस्थापन पक्षसँग असन्तुष्ट इतर समूहले समानान्तर रूपमा अधिवेशन सञ्चालन गर्दै आएको छ। सोही क्रममा समूहले आइतबार र सोमबार देशका विभिन्न जिल्लामा अधिवेशन आयोजना गरेको हो।
जिल्लास्तरको अधिवेशन सम्पन्न भएपछि इतर समूहले प्रदेश र केन्द्रीय अधिवेशनको तयारीलाई अघि बढाएको छ। समूहले आगामी मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
१८ कार्तिक २०८३, मंगलवार ०७:३९