सिन्धुपाल्चोक, १८ कात्तिक २०८३।
पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङस्थित श्री गणेश आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। विद्यालयमा प्रारम्भिक बालविकास (ईसीडी) देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट र स्विटर उपलब्ध गराइएको हो।
धर्मगुरु साधक छेतेन नोर्गे शेर्पा र अमेरिकामा बस्दै आएकी पासाङ याङ्जी शेर्पाको सहयोगमा विद्यार्थीलाई जाडो मौसममा उपयोगी हुने कपडा प्रदान गरिएको विद्यालयले जनाएको छ।
त्यसैगरी, आर्थिक अवस्था कमजोर भएका चार विद्यार्थीका परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको छ। विद्यालयकी प्रधानाध्यापक निर्मला धितालका अनुसार विपन्न परिवारलाई दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन गुरुङले सहयोग गर्ने दाताहरूप्रति धन्यवाद व्यक्त गरे। सहयोग जुटाउन विशेष पहल गरेको भन्दै उनले पाँचपोखरी थाङपाल गाउँपालिका–७ का वडाध्यक्ष सुके तामाङ र भोटेनाम्लाङ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बरदान तामाङप्रति पनि आभार प्रकट गरे।
कार्यक्रममा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् सिन्धुपाल्चोकका उपसचिव सुभाष घले गुरुङ, रामकुमारी गुरुङलगायतको उपस्थिति थियो।
विद्यार्थीलाई न्यानो कपडा र आर्थिक रूपमा कमजोर परिवारलाई खाद्यान्न उपलब्ध गराउँदा उनीहरूको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको पठनपाठनमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।
१८ कार्तिक २०८३, मंगलवार ०७:३५