जनतापत्र,काठमाडौं– जेनजी आन्दोलनपछि मुलुक अस्थिरतामा रहेको बेला राजधानीको सुन्धारा क्षेत्रमा बिहीबार युवाहरूबीच झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देश सरकारविहीन अवस्थामा रहँदा विभिन्न समूहले नयाँ अन्तरिम सरकार बनाउने दाबी गर्दै सडकमा उत्रिएका हुन्।

नेपाली सेनाले जंगीअड्डा गेटमा सूचना प्रसारण गर्दै आन्दोलनरत समूहलाई नेतृत्वको नाम र सम्पर्क नम्बर बुझाउन आग्रह गरेको थियो। सेनाले बिहीबार बिहानै आफ्नो प्रतिनिधि पठाएर विवरण पेस गर्न भनिएको कारण फरक–फरक समूह सिफारिससहित त्यहाँ पुगेका थिए।
तर अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा वादविवाद बढ्दै गएर आपसी झडपमा परिणत भएको हो। एक समूहले अर्को समूहको सिफारिस अस्वीकार गरेपछि तनाव चुलिएको र स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा निकायलाई कठिनाइ भएको बताइएको छ।
२६ भाद्र २०८२, बिहीबार १५:१०