जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको सुकुटे क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै आएको सन्दर्भमा यहाँ सञ्चालनमा रहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै स्थानीय अर्थतन्त्र र राष्ट्रिय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। यसैबीच, सुकुटे पर्यटन व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देखिएका केही अस्वस्थ गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


संघका अनुसार केही व्यक्तिहरूले अनुमति बिना रिसोर्टका संवेदनशील क्षेत्रमा प्रवेश गरी पर्यटकहरूको गोपनीयता उल्लङ्घन गर्ने, भ्रामक भिडियो सामग्री तयार गर्ने तथा सामाजिक सञ्जालमार्फत अतिरञ्जित रूपमा प्रसारण गर्ने जस्ता गतिविधि बढ्दै गएका छन्। यस्ता कार्यले पर्यटकको व्यक्तिगत स्वतन्त्रता र सुरक्षामा असर पार्नुका साथै समग्र पर्यटन क्षेत्रकै छविमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा सुकुटे क्षेत्रका सबै व्यवसायीहरूले प्रचलित नियम तथा कानुनको पूर्ण पालना गरिरहेको स्पष्ट पार्दै कुनै जिज्ञासा भए सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिन आग्रह गरिएको छ। साथै, तथ्यहीन समाचार वा सामग्री सम्प्रेषण नगर्न र यस्ता कार्य तत्काल रोक्न चेतावनी दिइएको छ।
संघले गोपनीयता उल्लङ्घन तथा भ्रामक सामग्री फैलाउने व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने पनि जनाएको छ। अन्त्यमा, शान्त, सुरक्षित र मर्यादित पर्यटन वातावरण कायम गर्न सबै सरोकारवालासँग सहकार्यको अपेक्षा गरिएको छ।
२३ बैशाख २०८३, बुधबार ०६:४३