
जनतापत्र, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकामा महिलाहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मुग्रन्ती दलित महिला सञ्जालको आयोजनामा तथा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा १५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिम अवधिभर सहभागीहरूलाई आधारभूतदेखि उन्नत स्तरसम्मका सिलाई–कटाई सम्बन्धी सीपहरू सिकाइएको थियो। प्रशिक्षकहरूले कपडा काट्ने, डिजाइन बनाउने, सिलाई गर्ने लगायतका व्यावहारिक ज्ञान प्रदान गरेका थिए। यसले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम समापनका अवसरमा आयोजकले तालिमले महिलाहरूको आत्मविश्वास बढाउनुका साथै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए। सहभागीहरूले पनि यस्ता सीपमूलक तालिमहरूले आफूहरूलाई भविष्यमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको बताएका छन्।
तालिम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्था र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै सबै सहभागी दिदीबहिनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।
२२ बैशाख २०८३, मंगलवार ११:५४