सुनकोशी — विद्यार्थी तथा शिक्षकलाई सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले सुनकोशी गाउँपालिकाका पाँच माध्यमिक विद्यालयमा जडान गरिएका आधुनिक पानी प्रशोधन यन्त्र विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ।
ग्राभिटी वाटर संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकाको समन्वयमा विद्यालयहरूमा पानी प्रशोधन प्रणाली जडान गरिएको हो। जडान गरिएका उपकरणहरू श्री महेन्द्रोदय माध्यमिक विद्यालय, श्री सेतिदेवी शारदा माध्यमिक विद्यालय, श्री बाघ भैरव माध्यमिक विद्यालय, श्री ठोकर्पा माध्यमिक विद्यालय र श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ।
हस्तान्तरण कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले विद्यालयमा उपलब्ध हुने खानेपानीको गुणस्तर सुधार गर्न आधुनिक प्रशोधन प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीलाई सुरक्षित बनाउन यस्ता प्रविधिको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष तिमल्सिनाको आग्रहपछि ग्राभिटी वाटरका प्रतिनिधिहरूले गाउँपालिकाभित्रका अन्य विद्यालयमा समेत आगामी दिनमा पानी प्रशोधन प्रणाली विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ प्रणाली सञ्चालनमा आएपछि पाँचवटै विद्यालयमा अध्ययनरत सयौँ विद्यार्थी तथा शिक्षकले स्वच्छ र सुरक्षित खानेपानीको सुविधा पाउने अपेक्षा गरिएको छ। विद्यालयमा प्रयोग हुने पानीलाई प्रशोधन गरी सुरक्षित रूपमा उपलब्ध गराउन यो प्रविधि उपयोगी हुने बताइएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
उक्त हस्तान्तरण कार्यक्रम हालैको प्राकृतिक विपत्ति आउनुअघि नै सम्पन्न भएको हो। विपत्तिपछि सम्बन्धित क्षेत्रमा उत्पन्न परिस्थितिले विद्यालय तथा खानेपानीका पूर्वाधारमा पारेको प्रभाव भने यस कार्यक्रमभन्दा अलग विषय रहेको जनाइएको छ।
१५ भाद्र २०८३, सोमबार १०:३७