भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन विभिन्न जिल्लाका अस्पताल, शव व्यवस्थापन केन्द्र र उद्धारस्थलसम्म पुगिरहेका छन्
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सयौँ परिवार आफ्ना बेपत्ता सदस्यको अवस्थाबारे जानकारी पाउने आशामा दिनरात भौंतारिरहेका छन्। कोही आफन्त जीवितै भेटिने आशामा उद्धारस्थल पुगिरहेका छन् भने कोही अस्पताल तथा शव व्यवस्थापन केन्द्रमा राखिएका शवको पहिचान खोजिरहेका छन्।
बाढीले मानिसहरूलाई कहाँ पुर्यायो, कसैलाई माटो तथा भग्नावशेषले पुर्यो कि कतै उद्धारको प्रतीक्षामा छन् भन्ने यकिन नहुँदा परिवारजनलाई खोजीको दायरा निर्धारण गर्नसमेत कठिन भएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, पोखरा, नवलपरासीलगायत विभिन्न स्थानमा आफन्तको खोजी गर्ने क्रम जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझसम्म बाढीपछि ७ सय ८८ जनाको शव फेला परेको छ भने २ हजार ५ सय २ जना अझै सम्पर्कविहीन छन्। जलविद्युत् आयोजनामा कार्यरत मजदुर, प्राविधिक तथा कर्मचारीमध्ये मात्रै ९ सय ३३ जनाको अवस्था अज्ञात रहेको बताइएको छ। त्यस्तै, ५ सय ९२ विदेशी नागरिक पनि सम्पर्कमा नरहेको विवरण छ। विदेशी पर्यटकसँगै यात्रामा रहेका १ सय २७ नेपाली नागरिकको अवस्थासमेत खुलेको छैन।
भाइ खोज्दै हिँडेका राम
रसुवाको हाकुबेंसीस्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्ने प्रवीण बुढा बाढीपछि बेपत्ता छन्। जुम्लाको पाताराशी गाउँपालिका–५ घर भएका उनका दाजु राम बुढा भाइको खोजीमा विभिन्न स्थान पुगिरहेका छन्।
बाढी आउनुअघि मंगलबार रामले प्रवीणलाई कार्यस्थलमै छाडेर काठमाडौं फर्किएका थिए। त्यसको भोलिपल्ट आएको बाढीपछि प्रवीणसँग सम्पर्क हुन सकेन।
भाइको खोजीमा हाकुबेंसी पुगेका रामले आयोजनाको सुरुङसम्म पुग्ने प्रयाससमेत गरे। तर सुरुङभित्र छातीसम्म हिलो जमेकाले उनी थप अगाडि बढ्न सकेनन्। भाइको नाम लिएर आवाज दिँदा पनि कुनै प्रतिक्रिया नआएपछि उनी निराश हुँदै फर्किए।
प्रवीण १२ कक्षा उत्तीर्ण गरेपछि विदेश जाने तयारीमा थिए। विदेश जाने प्रक्रिया पूरा नहुँदासम्म केही आम्दानी होस् भनेर दाजुसँगै काम गर्न रसुवा पुगेका थिए।
रामका अनुसार घरमा रहेका बुबाआमा छोराको अवस्थाबारे चिन्तित छन्। उनी आफैंले खोजी भइरहेको भन्दै परिवारलाई सम्झाइरहेका छन्, तर भाइको अवस्थाबारे ठोस जानकारी नहुँदा उनीसँग पनि जवाफ छैन।
श्रीमान्को अनुहार खोज्दै पोखरा पुगेकी सरिता
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीकी सरिता चौधरी पनि आफ्ना श्रीमान् सुनील चौधरीको खोजीमा पोखरा पुगेकी छन्। रसुवाको टिमुरे क्षेत्रमा जलविद्युत् आयोजनामा मिस्त्रीका रूपमा काम गर्ने सुनील बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बाढी आउनुअघि साँझसम्म सुनील र सरिताबीच फोनमा कुराकानी भएको थियो। त्यसक्रममा सुनीलले काम कठिन भएको र खोलानालाका कारण जोखिम रहेको बताएका थिए।
घरको आर्थिक अवस्था कमजोर रहेको र दुई सन्तानको जिम्मेवारीसमेत आफूमाथि रहेको बताउँदै सरिताले श्रीमान्को अवस्थाबारे यकिन जानकारी नहुँदा परिवार चलाउने चिन्ता थपिएको बताइन्।
उनका १६ वर्षीय छोरा र १० वर्षकी छोरीले बाबाबारे सोधिरहने गरेका छन्। श्रीमान् फेला नपरे पनि सरकारले परिवारलाई राहत तथा बालबालिकाको संरक्षणमा सहयोग गर्नुपर्ने उनको माग छ।
६० वर्षीया आमा छोराको खोजीमा भरतपुरसम्म
रसुवा भन्सार कार्यालय आसपास काम गर्ने रौतहटको चन्द्रनिगाहपुर–१ पौराहीका शेरबहादुर माझी पनि बाढीपछि बेपत्ता छन्। उनको खोजी गर्दै ६० वर्षीया आमा बिर्सीमाया भरतपुर पुगेकी छन्।
छोराको अवस्था थाहा पाउन ढिला गरी सूचना पाएपछि उनी आफन्तको सहयोगमा भरतपुर आइपुगेकी हुन्। त्यहाँ पहिचान नखुलेका शवका तस्बिर हेर्ने व्यवस्था गरिएको थियो। उनले लामो समयसम्म ती तस्बिर नियाले पनि छोरासँग मिल्ने हुलिया भेटिनन्।
नवलपुरको गैंडाकोट र पोखरामा समेत शव राखिएको जानकारी पाएपछि उनी ती स्थानमा पनि जाने तयारीमा छिन्। बिर्सीमायाले छोरा अझै जीवितै भेटिने आशा नछाडेको बताइन्।
बाबु–छोराको अवस्था अज्ञात
बाँकेको कोहलपुर–११ लोकनगरका आशाराम थारू र उनका छोरा पृथ्वीनारायण पनि बाढीपछि सम्पर्कविहीन छन्। उनीहरू नुवाकोटको जलविद्युत् आयोजनामा कार्यरत थिए।
आशारामका भाइ करिङ्गा थारू उनीहरूको खोजीका लागि भरतपुर पुगेका छन्। सोही क्षेत्रबाट काम गर्न गएका केही व्यक्तिको शव भरतपुरमा भेटिएपछि आफ्ना आफन्त पनि त्यहीँ हुन सक्ने आशामा उनले शव व्यवस्थापन केन्द्रमा खोजी गरे। तर दुई दिनसम्म खोज्दा पनि उनीहरूबारे कुनै जानकारी प्राप्त भएन।
प्रहरी जवानको खोजीमा परिवार
बर्दियाको जोडिपुर–१ फूलबारीकी गीता थारूका ज्वाइँ सन्तराम थारू पनि बाढीपछि सम्पर्कविहीन छन्। नेपाल प्रहरीमा कार्यरत सन्तरामको असारमा रसुवाको टिमुरेमा सरुवा भएको थियो।
गीता लगातार भरतपुर पुगेर पहिचान नखुलेका शवको विवरण तथा तस्बिर हेर्दै आएकी छन्। परिवारका सदस्यले गैंडाकोटलगायत अन्य स्थानमा समेत खोजी गरिरहेका छन्।
यसैबीच सामाजिक सञ्जालमा सन्तराम सुरक्षित रूपमा काठमाडौं आइपुगेको हुन सक्ने नामसमेत देखिएपछि परिवारमा केही आशा पलाएको छ। तर आधिकारिक पुष्टि नभएसम्म खोजी नरोक्ने उनीहरूको भनाइ छ।
पाँच ठाउँ पुग्दा पनि भाइको खबर आएन
मकवानपुरको थाहा नगरपालिका–४ का नवराज लामा आफ्ना भाइ रामेश्वर लामाको खोजीमा नुवाकोटदेखि पोखरासम्म पुगे। बाढीअघि रामेश्वर रसुवागढीतर्फ सामान लिन गएका थिए।
नवराजले नुवाकोट, चितवन, गैंडाकोट हुँदै पोखरासम्म पुगेर अस्पताल तथा शव व्यवस्थापन केन्द्रमा खोजी गरे। पहिचान नखुलेका शवका तस्बिरसमेत हेरे, तर भाइको कुनै अत्तोपत्तो लागेन।
धेरै स्थानमा पुग्दा पनि जानकारी नपाएपछि उनी घर फर्किएका छन्। बेपत्ता आफन्तको खोजी गर्न परिवारले विभिन्न जिल्लाका अस्पताल र शव व्यवस्थापन केन्द्र धाउनुपर्ने अवस्थाले पीडित परिवारको समस्या थप बढाएको उनको भनाइ छ।
रामेश्वरसँग बाढी आउनुभन्दा अघिल्लो साँझ भिडियो कुराकानी भएको थियो। त्यसपछि सम्पर्क टुटेको हो।
छोराको खोजीमा बाबुको दौडधुप
थाहा नगरपालिका–३ का ओमबहादुर कार्कीका छोरा प्रशान्त पनि बाढीपछि सम्पर्कविहीन छन्। सामान ढुवानीका लागि गाडी लिएर रसुवागढीतर्फ गएका प्रशान्तको खोजीमा ओमबहादुर नुवाकोटदेखि चितवन र नवलपरासीसम्म पुगे।
विभिन्न अस्पतालमा राखिएका शव तथा उपलब्ध विवरण हेर्दासमेत छोराको अवस्था पत्ता लाग्न सकेन। अन्ततः निराश हुँदै उनी घर फर्किएका छन्।
हेटौंडा उपमहानगरपालिका–३ का घनश्याम बस्नेतको परिवारको अवस्था पनि यस्तै छ। सामान बोकेर रसुवा गएका घनश्यामले बाढी आउनुअघि रसुवागढी नजिकैबाट श्रीमतीलाई फोन गरेका थिए। त्यसपछि उनी सम्पर्कमा छैनन्।
श्रीमान्को खोजीमा उनकी श्रीमती कञ्चन पाठक भरतपुर, कावासोती तथा मध्यबिन्दु क्षेत्रमा पुगेकी छन्। विभिन्न स्थानमा खोजी गरे पनि अहिलेसम्म घनश्यामको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
कहाँ खोज्ने भन्ने अन्योल
भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा परिवारजन मात्र होइन, स्थानीय जनप्रतिनिधिसमेत विभिन्न जिल्लामा पुगिरहेका छन्। परिवारका सदस्यहरू समूह बनाएर अस्पताल, शव व्यवस्थापन केन्द्र र सम्भावित उद्धारस्थलमा पुग्ने गरेका छन्।
पहिचान नखुलेका शवका तस्बिर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा प्रदर्शन गरेर आफन्त पहिचान गर्ने प्रयाससमेत भइरहेको छ। कतिपय परिवारले सामाजिक सञ्जालमार्फत बेपत्ता व्यक्तिको खोजीका लागि अपिल गरेका छन्।
तर आर्थिक अवस्था कमजोर भएका, वृद्धवृद्धा तथा सामाजिक सञ्जालको पहुँच नभएका परिवारका लागि यस्तो खोजी झन् कठिन बनेको छ। एक जिल्लाबाट अर्को जिल्लामा पुग्नुपर्ने बाध्यता, यातायात खर्च र सूचनाको अभावले उनीहरूको पीडा थपिएको छ।
बाढीपछि कृष्णभीर क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास तथा तरकारीको आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ। उद्धार तथा खोजी कार्यसँगै बेपत्ता व्यक्तिको पहिचान र परिवारसम्म सही सूचना पुर्याउने काम पनि अहिले प्रमुख चुनौती बनेको छ।
१५ भाद्र २०८३, सोमबार ०८:०५