अर्थमन्त्री वाग्लेले भारतीय वित्तमन्त्री सीतारमणसँग गरे आर्थिक सहकार्यबारे छलफल

काठमाडौँ — भारत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा बिहीबार अपराह्न भएको भेटमा नेपाल–भारत आर्थिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

नेपाली दूतावासका अनुसार वार्तामा बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटी लगायतका विषय उठेका थिए। दुई देशबीचको दीर्घकालीन आर्थिक साझेदारीलाई थप विस्तार र मजबुत बनाउने विषयमा पनि दुवै पक्षबीच छलफल भएको जनाइएको छ।

भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबारदेखि तीनदिने भारत भ्रमणमा छन्। विपद्पछिको पुनर्निर्माणसँगै नेपाल र भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको बताइएको छ।

भ्रमणका क्रममा वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि उनले विदेशमन्त्री जयशंकरसँग भेट गर्नेछन्। शुक्रबार साँझ भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक क्षेत्रका प्रतिनिधिसँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथि बन्ने कार्यक्रम रहेको छ।

१ आश्विन २०८३, बिहीबार २०:४९