चाडपर्व लक्षित गर्दै सुकुटे र साँगाचोकका मासु पसलमा अनुगमन

चौतारा, सिन्धुपाल्चोक — चाडपर्व नजिकिँदै गएसँगै चौतारा साँगाचोकगढी नगरपालिकाले बजारमा बिक्री भइरहेका मासुको गुणस्तर तथा सरसफाइबारे अनुगमन थालेको छ।

नगर उपप्रमुख सीता थापाको नेतृत्वमा बिहीबार सुकुटे, साँगाचोकलगायतका बजार क्षेत्रमा रहेका मासु पसल र बधशालाको निरीक्षण गरिएको हो।

अनुगमन टोलीले पसलमा बिक्रीका लागि राखिएको मासुको अवस्था, मासु राख्ने ठाउँको सरसफाइ, बधशालाको स्वच्छता तथा व्यवस्थापन र व्यवसाय कानुनी रूपमा दर्ता भए–नभएको विषयमा जाँच गरेको थियो।

चाडपर्वमा मासुको खपत बढ्ने भएकाले उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिइएको उपप्रमुख थापाले बताइन्। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँले पनि सुरक्षित भण्डारण, सरसफाइ र व्यवस्थित रूपमा मासु बिक्री गर्न व्यवसायीलाई आग्रह गरिन्।

यसअघि बुधबार नगरपालिकाको टोलीले वडा नम्बर ५ र ७ मा रहेका ११ मासु पसल र दुई बधशालाको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा अधिकांश पसलमा सरसफाइ र व्यवस्थापन सुधार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाले जनाएको छ।

बधशालालाई पनि थप व्यवस्थित र स्वच्छ बनाउनुपर्नेमा उपप्रमुख थापाले जोड दिइन्। पहिलो चरणमा व्यवसायीलाई सुधारका लागि सचेत गराइएको र आगामी अनुगमनमा पनि मापदण्ड पालना नगरे नियमानुसार कारबाही गरिने उनले बताइन्।

बुधबारको अनुगमनमा वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी, पशु कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए।

चाडपर्वको समयमा खाद्य सामग्रीको माग बढ्ने भएकाले बजार अनुगमनसँगै व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतनालाई पनि प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

१ आश्विन २०८३, बिहीबार २०:४२