सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ३ दिने कस्टमाइज्ड तालिम सम्पन्न

जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको “Recovery and Accelerated Learning (REAL Plan) सम्बन्धी ३ दिने कस्टमाइज्ड तालिम सम्पन्न भएको छ।
जुगल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मिति २०८३ साल जेठ १० गते सम्पन्न तालिममा गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो।


तालिममार्फत विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार, सिकाइ क्षति न्यूनीकरण तथा प्रभावकारी शिक्षण विधिबारे शिक्षकहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। विशेषगरी कोभिड महामारीपछि विद्यार्थीहरूमा देखिएको सिकाइ अन्तरलाई कम गर्दै छिटो र प्रभावकारी रूपमा सिकाइ उपलब्धि बढाउने उद्देश्यले च्भ्ब्ी एबिल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको हो।
तालिममा सहभागी शिक्षकहरूलाई विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रिया, कक्षाकोठा व्यवस्थापन, सिकाइ मूल्यांकन तथा सिकाइ पुनस्र्थापना सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले आधुनिक शिक्षण पद्धति अपनाउँदै विद्यार्थीको आवश्यकता अनुसार शिक्षण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि हुनुका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जुगल गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता क्षमता विकाससम्बन्धी तालिमलाई निरन्तरता दिने निर्णय गरे ।

११ जेष्ठ २०८३, सोमबार १३:५८