सांसदको उपस्थिति नपुग्दा खानी तथा खनिज पदार्थ विधेयक अघि बढेन

काठमाडौं — प्रतिनिधिसभाको मंगलबारको बैठकमा आवश्यक सांसद उपस्थित नभएपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव टुंगोमा पुग्न सकेन।

विधेयकलाई छलफलका लागि अघि बढाउने प्रस्तावमाथि निर्णय लिनुअघि कांग्रेसका सचेतक निश्कल राईले सदनमा आवश्यक गणपूरक संख्या पुगेको छ कि छैन भन्ने यकिन गर्न सभामुखसँग आग्रह गरेका थिए।

त्यसपछि सभामुख डीपी अर्यालले सांसदहरूको उपस्थिति जाँच गर्न तीन मिनेटसम्म घण्टी बजाउन लगाए। गणना गर्दा बैठकमा ६१ जना सांसद मात्र उपस्थित रहेको पाइयो।

संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न कुल सदस्य संख्याको कम्तीमा एक चौथाइ सांसद अर्थात् ६९ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। आवश्यक संख्याभन्दा ८ जना कम सांसद उपस्थित भएपछि विधेयकसम्बन्धी प्रस्तावमाथि तत्काल निर्णय लिन नसकिएको हो।

उद्योगमन्त्री गौरी कुमारीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। तर गणपूरक संख्या नपुगेपछि सभामुख अर्यालले उक्त प्रस्तावमाथिको निर्णय अर्को बैठकमा गरिने जानकारी दिए।

प्रतिनिधिसभाको उक्त बैठक दिउँसो १ बजे सुरु भएको थियो। बैठक राति सवा ८ बजेपछि मात्र समाप्त भएको थियो।

२७ श्रावण २०८३, बुधबार ०६:२९