जनतापत्र, चौतारा । वर्षायामसँगै सर्पदंशका घटना बढिरहेका बेला देशका प्रमुख अस्पतालमै सर्पको विषविरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम ९एन्टिभेनम० को अभाव देखिएको छ। औषधि नहुँदा विषालु सर्पको टोकाइमा परेका बिरामीलाई तत्काल उपचार दिन कठिनाइ हुनुका साथै कतिपयलाई सीमावर्ती भारतीय अस्पतालसम्म लैजानुपर्ने अवस्था आएको छ।
सर्पदंशको उपचारका लागि महत्वपूर्ण केन्द्र मानिने नारायणी अस्पतालमा एन्टिभेनम सकिएपछि अस्पतालले बिरामीलाई अन्य स्वास्थ्य संस्थामा लैजान आग्रह गर्नुपरेको छ। अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीलगायत आसपासका जिल्लाबाट दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
उनका अनुसार असारदेखि भदौसम्म नारायणी अस्पतालमा दैनिक औसत आठ जना सर्पदंशका बिरामी आउने गरेका छन्। तीमध्ये करिब दुई जनालाई एन्टिभेनम आवश्यक पर्ने गरेको छ। मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त औषधिको मौज्दात सकिएपछि अस्पतालमा उपचार व्यवस्थापन प्रभावित भएको हो।
वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले यही समयमा सर्पदंशका घटना पनि बढी हुने चिकित्सकहरू बताउँछन्। तर बिरामीको चाप बढ्ने समयमा नै जीवनरक्षक औषधिको अभाव भएपछि अस्पताललाई गम्भीर बिरामीको उपचार व्यवस्थापन गर्न समस्या परेको छ।
विषालु सर्पको टोकाइमा केही समयमै गम्भीर हुन सक्छ अवस्था
सर्पदंश विशेषज्ञहरूका अनुसार सबै सर्प विषालु हुँदैनन्। तर कोब्रा र करेतजस्ता विषालु सर्पको टोकाइमा तत्काल उपचार आवश्यक हुन्छ। समयमै एन्टिभेनम उपलब्ध हुन नसके बिरामीको अवस्था छिट्टै बिग्रन सक्छ।
डा। सिंहका अनुसार कोब्राको विषको प्रभाव कतिपय अवस्थामा ३० मिनेटदेखि तीन घण्टाभित्र देखिन थाल्छ। करेतको टोकाइमा भने दुईदेखि १२ घण्टासम्ममा विषको असर देखिन सक्ने उनले बताए।
‘समयमै एन्टिभेनम दिन नसक्दा गम्भीर अवस्था आउन सक्छ,’ सिंहले भने, ‘औषधि अभावका कारण गम्भीर बिरामीलाई समेत अन्यत्र पठाउनुपर्ने अवस्था आएको छ।’
नारायणीमा एन्टिभेनम नपाएपछि केही बिरामी सीमावर्ती भारतीय शहर रक्सोलतर्फ जाने गरेका छन्। निजी अस्पतालहरूले पनि नियमित रूपमा सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनम भण्डारण नगर्ने भएकाले बिरामीका लागि विकल्प सीमित भएको चिकित्सकहरूको भनाइ छ।
गर्मी र वर्षामा सर्पदंशको जोखिम बढी
गर्मी तथा वर्षाको समयमा सर्पहरू बासस्थानबाट बाहिर निस्कने भएकाले खेतबारी तथा घर वरपर काम गर्ने मानिस बढी जोखिममा पर्ने गरेका छन्। विशेषगरी तराई क्षेत्रमा सर्पदंशका घटना धेरै हुने गरेका छन्।
नेपालमा करिब ९० प्रजातिका सर्प रहेको अभिलेख पाइन्छ। तीमध्ये १७ प्रजातिलाई विषालु मानिन्छ। करेत, कोब्रा र रसेल्स भाइपर अर्थात् बाघे सर्पलाई नेपालमा बढी खतरनाक विषालु सर्पका रूपमा लिइन्छ।
सरकारी विवरणअनुसार सर्पदंशको उच्च जोखिममा रहेका २६ जिल्लामध्ये अधिकांश तराईका छन्। चार जिल्ला भने भित्री मधेश तथा पहाडी क्षेत्रमा पर्छन्।
विशेषज्ञहरूका अनुसार सर्प देख्नेबित्तिकै डराउनु स्वाभाविक भए पनि सबै सर्पले विष हाल्दैनन्। अधिकांश सर्प विषरहित हुने भएकाले सर्पले टोकेपछि अनुमानका भरमा नबस्ने र तत्काल स्वास्थ्य संस्थामा पुग्नु आवश्यक हुन्छ।
महँगो औषधि भएकाले सरकारी आपूर्तिमै निर्भरता
एन्टिस्नेक भेनम सामान्य औषधि पसलमा सहजै पाइने औषधि होइन। विषालु सर्पको टोकाइ गम्भीर भए एउटै बिरामीलाई धेरै भाइलसम्म औषधि आवश्यक पर्न सक्छ।
उपचारमा ठूलो मात्रामा एन्टिभेनम प्रयोग गर्नुपर्ने अवस्थामा खर्च पनि निकै बढ्न सक्छ। त्यसैले सरकारले नै औषधि खरिद गरेर स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ।
लुम्बिनीमा पनि मौज्दात न्यून
सर्पदंशका बिरामी बढिरहेका बेला लुम्बिनी प्रदेशमा पनि एन्टिभेनमको मौज्दात न्यून भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग अहिले करिब १०० भाइल मात्रै औषधि रहेको केन्द्रका निर्देशक डा। राजेन्द्रकुमार पण्डितले बताए।
उनका अनुसार प्रदेशका सबै अस्पताललाई मागअनुसार पर्याप्त मात्रामा औषधि उपलब्ध गराउन अहिले कठिन छ।
‘अहिले हामीसँग सीमित मात्रामा स्टक छ,’ पण्डितले भने, ‘सबै अस्पताललाई आवश्यकताअनुसार पर्याप्त औषधि दिन सक्ने अवस्था छैन।’
लुम्बिनी प्रदेशमा दाङ, बर्दिया तथा लुम्बिनी क्षेत्रका स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ। तत्कालका लागि कुनै अस्पतालमा औषधि अभाव भए अर्को स्वास्थ्य संस्थाबाट ल्याएर व्यवस्थापन गर्ने गरिएको पण्डितले बताए।
विज्ञको चेतावनी– एन्टिभेनमको अभाव घातक हुन सक्छ
सर्पदंशबाट नेपालमा हरेक वर्ष ठूलो संख्यामा मानिस प्रभावित हुने भए पनि सरकारले मृत्युको यकिन तथ्यांक राख्न सकेको छैन। सन् २०२२ मा युनिभर्सिटी अफ जेनेभा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित अध्ययनले नेपालमा वार्षिक ३७ हजार ६६१ जनासम्मलाई सर्पले टोक्ने र ३ हजार २२५ जनासम्मको मृत्यु हुने अनुमान गरेको थियो।
सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले विषालु सर्पको टोकाइमा एन्टिभेनमलाई जीवन बचाउने अत्यावश्यक औषधिका रूपमा लिनुपर्ने बताए।
उनका अनुसार विशेषगरी कोब्रा र करेतको विषले शरीरमा छिटो असर गर्न सक्ने भएकाले बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउनु अत्यन्त महत्वपूर्ण हुन्छ।
‘विषालु सर्पको टोकाइमा समयमै एन्टिभेनम दिन नसक्दा ज्यान जाने अवस्था आउन सक्छ,’ डा। पुनले भने, ‘त्यसैले सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा यसको पर्याप्त मौज्दात अनिवार्य हुनुपर्छ।’
उनले सर्पदंशलाई हरेक वर्ष दोहोरिने मौसमी स्वास्थ्य समस्या भएकाले औषधि अभावलाई आकस्मिक अवस्थाका रूपमा मात्र हेर्न नहुने बताए। जोखिमको समय पहिल्यै अनुमान गरेर आवश्यक मात्रामा एन्टिभेनम भण्डारण गर्नुपर्ने उनको सुझाव छ।
एन्टिभेनम नभएर बिरामीलाई अर्को अस्पताल पठाउनुपर्दा उपचार सुरु हुन ढिलाइ हुन सक्छ। विषालु सर्पको टोकाइमा यस्तो ढिलाइले बिरामीको अवस्था थप गम्भीर बनाउन सक्ने भएकाले स्वास्थ्य संस्थाबीचको आपूर्ति र व्यवस्थापन प्रणाली प्रभावकारी बनाउनुपर्ने विज्ञहरूको भनाइ छ।
स्वास्थ्य विभाग भन्छ– एक साताभित्र औषधि आइपुग्छ
देशका विभिन्न स्वास्थ्य संस्थामा एन्टिभेनमको अभाव देखिएपछि स्वास्थ्य सेवा विभागले भने औषधि खरिद प्रक्रिया अघि बढिसकेको जनाएको छ।
विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव पण्डितका अनुसार अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या तथा सीमित आपूर्तिकर्ताका कारण खरिद प्रक्रिया अपेक्षाभन्दा केही लम्बिएको हो।
उनले एक साताभित्र एन्टिभेनम नेपाल आइपुग्ने दाबी गरेका छन्।
विभागका अनुसार केन्द्रीय तहमा अहिले पर्याप्त मौज्दात छैन। केही स्वास्थ्य संस्थामा बाँकी रहेको औषधिलाई भने अभाव भएका ठाउँमा आन्तरिक व्यवस्थापनमार्फत पठाउने काम भइरहेको छ।
सर्पदंशको जोखिम बढ्ने समयमा नै जीवनरक्षक औषधिको अभाव देखिएपछि तत्काल आपूर्ति सुनिश्चित गर्नुपर्ने दबाब स्वास्थ्य निकायमाथि परेको छ।
२६ श्रावण २०८३, मंगलवार २१:५५