काठमाडौँ । रोजगारीका पर्याप्त अवसर नहुनु र युवाले मर्यादित काम पाउन नसक्नु दक्षिण एसियाका केही देशमा बढ्दो सामाजिक तथा राजनीतिक असन्तुष्टिको कारण बन्न थालेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले जनाएको छ।
आईएलओले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६ : ब्याक टु द फ्युचर’ प्रतिवेदनमा नेपाल, बंगलादेश र श्रीलंकामा रोजगारीको अभावप्रतिको असन्तुष्टि राजनीतिक उथलपुथलसम्म पुगेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभरको युवा बेरोजगारी दर १२.४ प्रतिशत पुगेको छ। १५ देखि २४ वर्ष उमेर समूहका करिब ६ करोड ७० लाख युवा रोजगारीविहीन रहेको आईएलओको तथ्यांक छ।
युवाका लागि रोजगारीको ढोका साँघुरिँदै
विश्व अर्थतन्त्रको सुस्त वृद्धि, नयाँ रोजगारी सिर्जनामा आएको कमी र प्रविधिमा भइरहेको तीव्र परिवर्तनका कारण श्रम बजारमा प्रवेश गर्न खोजिरहेका युवाका लागि चुनौती बढ्दै गएको आईएलओको निष्कर्ष छ।
शिक्षाको पहुँच र शैक्षिक योग्यता बढे पनि कतिपय मुलुकमा शिक्षित युवामाझ बेरोजगारी बढिरहेको प्रतिवेदनले औंल्याएको छ। रोजगारी नपाउँदा युवाको भविष्यप्रतिको विश्वास कमजोर हुनुका साथै सामाजिक असन्तुष्टि पनि बढिरहेको आईएलओको भनाइ छ।
केन्यामा सन् २०२४ र २०२५ मा भएका जेन–जी आन्दोलनलाई समेत आईएलओले उदाहरणका रूपमा प्रस्तुत गरेको छ। रोजगारीको अभाव, भ्रष्टाचार र राजनीतिक संस्थाप्रति युवाको बढ्दो असन्तुष्टिले आन्दोलनलाई बल दिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल, बंगलादेश र श्रीलंकाको अवस्थालाई पनि आईएलओले यही व्यापक प्रवृत्तिसँग जोडेको छ। यी देशमा रोजगारीको अवसर र मर्यादित कामको अभावप्रतिको असन्तुष्टि राजनीतिक परिवर्तन तथा उथलपुथलको कारक बनेको प्रतिवेदनमा उल्लेख छ।
२५ करोडभन्दा बढी युवा रोजगारी, शिक्षा र तालिमबाट बाहिर
आईएलओका अनुसार रोजगार, शिक्षा वा तालिममध्ये कुनैमा पनि संलग्न नभएका युवाको विश्वव्यापी हिस्सा २० प्रतिशत पुगेको छ। यसबाट विश्वभर २५ करोड ७० लाखभन्दा बढी युवा प्रभावित छन्।
सन् २०२३ देखि २०२५ को अवधिमा विश्वका ११ उपक्षेत्रमध्ये आठमा युवा बेरोजगारी बढेको प्रतिवेदनले देखाएको छ। आर्थिक वृद्धिको सुस्त गति, कमजोर रोजगारी सिर्जना, भूराजनीतिक तनाव र प्रविधिको तीव्र विकासले युवाको रोजगारीमा थप दबाब सिर्जना गरिरहेको आईएलओले जनाएको छ।
विकासशील देशमा बेरोजगारीको दर तुलनात्मक रूपमा कम देखिए पनि त्यसलाई मात्र आधार मानेर श्रम बजारको अवस्था राम्रो रहेको निष्कर्ष निकाल्न नसकिने प्रतिवेदनले जनाएको छ। रोजगारीको विकल्प सीमित हुँदा धेरै युवा अस्थायी, असुरक्षित वा अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य छन्।
कम तथा निम्न–मध्यम आय भएका देशमा १५ देखि २९ वर्ष उमेर समूहका करिब १० मध्ये नौ युवा श्रमिक अनौपचारिक क्षेत्रमा काम गरिरहेको आईएलओले जनाएको छ। यस्तो रोजगारीमा स्थिर आम्दानी, सामाजिक सुरक्षा र दीर्घकालीन करिअरको सम्भावना कमजोर हुने गर्छ।
एआईले पनि बदल्दैछ रोजगारीको बजार
प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता (एआई) को विस्तारले युवाको रोजगारीमा नयाँ अवसरसँगै चुनौती पनि थपिरहेको जनाएको छ।
१५ देखि २९ वर्ष उमेर समूहका युवाले गरिरहेका करिब ६.१ प्रतिशत रोजगारी एआईबाट उच्च प्रभाव पर्न सक्ने प्रकृतिका रहेको आईएलओको अनुमान छ। विशेषगरी कार्यालय तथा प्रशासनिक प्रकृतिका मध्यम सीप आवश्यक पर्ने काममा यसको प्रभाव बढी देखिन सक्ने बताइएको छ।
तर विज्ञान, स्वास्थ्य र इन्जिनियरिङजस्ता ज्ञान तथा प्राविधिक क्षेत्रमा भने रोजगारीको माग बढिरहेको प्रतिवेदनले जनाएको छ। त्यसैले भविष्यको श्रम बजारअनुसार युवालाई आवश्यक सीप प्रदान गर्न शिक्षा, तालिम र जीवनपर्यन्त सिकाइमा लगानी बढाउनुपर्ने आईएलओको सुझाव छ।
आईएलओका महानिर्देशक गिल्बर्ट एफ. हौङवोले युवाले सम्मानजनक रोजगारी नपाउँदा उनीहरूको भविष्यप्रतिको भरोसा कमजोर हुने बताएका छन्। उनका अनुसार युवाका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्नु सामाजिक दायित्व मात्र नभई देशको प्रतिभा, उत्पादकत्व र सामाजिक एकता जोगाउने महत्वपूर्ण लगानीसमेत हो।
२७ श्रावण २०८३, बुधबार १४:४५