रोनाल्डोको जीवनमा नयाँ अध्याय, जर्जिनासँग बाँधिए वैवाहिक सम्बन्ध

काठमाडौँ । विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। करिब एक दशक लामो सम्बन्धलाई विवाहमा परिणत गर्दै उनीहरूले नयाँ जीवनको सुरुवात गरेका हुन्।

पोर्चुगलको राजधानी लिस्बननजिकै रहेको समुद्री तटीय क्षेत्र कास्काइसस्थित एक रिसोर्टमा अगस्ट ११ मा विवाह समारोह आयोजना गरिएको बताइएको छ। पारिवारिक वातावरणमा सम्पन्न समारोहमा रोनाल्डो र जर्जिनाका पाँच सन्तानसमेत सहभागी भएको जनाइएको छ।

विवाहपछि रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो र जर्जिनाको हातमा विवाहको औंठी देखिएको तस्बिर सार्वजनिक गरेका थिए। तस्बिर सार्वजनिक भएको केही समयमै त्यसले ठूलो संख्यामा प्रतिक्रिया र लाइक पाएको थियो।

रोनाल्डो र जर्जिनाको भेट स्पेनको म्याड्रिडमा भएको थियो। त्यतिबेला जर्जिना एउटा गुच्ची स्टोरमा काम गर्थिन् भने रोनाल्डो रियल म्याड्रिडका लागि खेलिरहेका थिए। त्यसपछि उनीहरूको सम्बन्ध क्रमशः गहिरिँदै गएको थियो।

गत वर्ष अगस्टमा यो जोडीले इन्गेजमेन्टको खबर सार्वजनिक गरेको थियो। जर्जिनाले औंठी देखाउँदै विवाहका लागि आफ्नो सहमति जनाएपछि उनीहरूको विवाहको चर्चा थप चुलिएको थियो।

फुटबलमा रोनाल्डोको परिचय भने अझ फराकिलो छ। उनले स्पोर्टिङ लिस्बनबाट करियर सुरु गर्दै म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसजस्ता युरोपका ठूला क्लबमा खेलिसकेका छन्। अहिले उनी साउदी अरबको अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। पोर्चुगल राष्ट्रिय टोलीका लागि समेत उनले लामो समयदेखि महत्वपूर्ण योगदान दिँदै आएका छन्।

रोनाल्डोले विश्वकपमा पनि कीर्तिमानी सहभागिता जनाएका छन्। पुरुष विश्वकपको फाइनल चरणमा सबैभन्दा धेरैपटक खेल्ने खेलाडीको सूचीमा उनी लियोनल मेसीसँगै अग्रस्थानमा छन्।

रोनाल्डोका पाँच सन्तान छन्। तीमध्ये दुई छोरी जर्जिनासँगका हुन् भने अन्य तीन सन्तान सरोगेसीलगायतका माध्यमबाट जन्मिएका हुन्।

२७ श्रावण २०८३, बुधबार ११:५६