आज राष्ट्रियसभा बैठकदेखि सात समितिसम्म व्यस्त, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल हुँदै

जनतापत्र, काठमाडौँ — संघीय संसद्मा आज राष्ट्रियसभा बैठकसँगै सातवटा संसदीय समितिका बैठक बस्दैछन्। राष्ट्रियसभामा नयाँ विधेयक पेस गर्ने तथा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ भने संसदीय समितिहरूले वित्तीय संघीयता, कैदीबन्दीको मानव अधिकार, सामाजिक संस्थाको अवस्था, विधि विज्ञान प्रयोगशाला र जलवायु सम्मेलनको तयारीलगायत विषयमा छलफल गर्ने भएका छन्।

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ।

बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेल ले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश सभामा प्रस्तुत गर्नेछन्।

त्यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी ले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूची पनि रहेको छ।

सात समितिका बैठकमा फरक–फरक विषय

संघीय संसद्का सातवटा समितिले पनि आज विभिन्न विषयमा छलफल गर्ने भएका छन्। अर्थ समिति, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित समिति, कानुन न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समिति का बैठक तय भएका छन्।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालसम्म गरेका काम, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका तथा त्यस क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल गरिनेछ। आयोगले गरेका सिफारिस कार्यान्वयनको अवस्थासमेत बैठकमा समीक्षा गरिनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थाबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ। उपसमितिले तयार पारेको प्रतिवेदन बैठकमा पेस गर्ने कार्यक्रम छ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे हुनेछ। बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रमलगायत सामाजिक संस्थाहरूको अवस्था तथा समितिले गरेको अनुगमनबाट प्राप्त निष्कर्षबारे बैठकमा छलफल गरिनेछ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का विषयमा छलफल गर्नेछ। उक्त बैठक पनि बिहान ११ बजे बस्नेछ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न उजुरीमाथि छलफल गर्ने कार्यसूची राखिएको छ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिले विगतका कोप सम्मेलनबाट भएका निर्णय तथा सम्झौताको कार्यान्वयन अवस्थाबारे छलफल गर्नेछ। ती निर्णय कार्यान्वयनका लागि नेपाल सरकारले गरेका कामकारबाहीबारे पनि समितिले जानकारी लिनेछ।

उक्त समितिले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारी बारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत राखेको छ।

२७ श्रावण २०८३, बुधबार १०:०१