जनतापत्र, काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको उद्देश्य, मर्यादा र प्रतिष्ठालाई प्राथमिकतामा राखेर देश तथा नागरिकको सुरक्षामा जिम्मेवार ढंगले खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। उनले कार्यक्षेत्रमा गलत नियत वा लापरवाही देखिएमा जुनसुकै तहका कर्मचारीमाथि पनि कारबाही हुने स्पष्ट पारेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मंगलबार आयोजित कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्। समादेशक, गणपति र गुल्मपतिका रूपमा विभिन्न स्थानमा जिम्मेवारी सम्हाल्न जाने अधिकृतका लागि तालिम सञ्चालन गरिएको थियो।
उनले राष्ट्र र संगठनको प्रतिष्ठाभन्दा माथि कुनै व्यक्ति हुन नसक्ने भन्दै जिम्मेवारी निर्वाह गर्दा अनुशासन र इमानदारीलाई मुख्य आधार बनाउन आग्रह गरे। प्रभाव वा पहुँचका आधारमा गल्तीबाट उम्कन सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उनले निर्देशन दिए।
आर्थिक अनियमिततामा शून्य सहनशीलता
महानिरीक्षक पौडेलले सरकारले अघि सारेको नतिजामुखी शासन व्यवस्थाअनुसार संगठनका प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग तथा विपद् व्यवस्थापनलाई समेटिएको द्यक्ष्च्म् अवधारणा अनुरूप जिम्मेवारी पूरा गर्न उनले अधिकृतहरूलाई निर्देशन दिए।
कार्यसम्पादनका क्रममा आर्थिक अनियमितता हुन नदिन शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ थियो।
पौडेलले कार्यक्षेत्रमा हुने सामान्य कमजोरीसमेत गम्भीर परिणामको कारण बन्न सक्ने भन्दै सुरक्षा चुनौतीको निरन्तर विश्लेषण गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिस्थितिका साथै आन्दोलन, विपद्, सीमा अपराध तथा सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिमबारे समयमै सचेत रहन उनले आग्रह गरे।
सीमा अपराध नियन्त्रणमा विशेष सतर्कता
सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले सीमा अपराध, लागूऔषध ओसारपसार, मानव बेचबिखन, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश तथा चोरी–तस्करी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने महानिरीक्षक पौडेलले बताए।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय, सरोकारवाला संस्था तथा सीमापारका समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय गरेर काम गर्नुपर्नेमा उनले जोड दिए।
सामाजिक सञ्जालको दुरुपयोगप्रति सचेत रहन आग्रह
कार्यक्रममा पौडेलले सशस्त्र प्रहरी कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए। मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच बाट सुरक्षा तथा समाजमा पर्न सक्ने नकारात्मक प्रभावबारे सचेत हुनुपर्ने उनको भनाइ थियो।
इमानदार र असल नियतले गरिएको काममा संगठनले कर्मचारीलाई संरक्षण र उच्च मूल्यांकन गर्ने बताउँदै उनले उच्च मनोबलका साथ व्यावसायिक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
तालिम र प्रविधिमा जोड
महानिरीक्षक पौडेलले सशस्त्र प्रहरीका तालिम शिक्षालयलाई उत्कृष्टताको केन्द्र का रूपमा विकास गर्नुपर्ने बताए। शिक्षालयका नेतृत्वलाई व्यावसायिक ज्ञान, प्रविधिको प्रयोग र व्यवहारिक सीप विकासलाई प्राथमिकता दिँदै तालिम प्रणालीलाई थप प्रभावकारी बनाउन उनले निर्देशन दिए।
यसैगरी, सशस्त्र प्रहरीका सबै युनिटमा फायरफाइटिङ टिम तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन्। आगलागीजस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी क्षेत्रमा चौबीसै घण्टा अपरेशनल तयारी कायम राख्न युनिट कमाण्डरहरूलाई उनले आग्रह गरे।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू बंशीराज दाहाल, गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेल ले पनि नयाँ कमाण्ड सम्हाल्न जाने अधिकृतलाई सीमा सुरक्षा, अपरेशनल तथा प्रशासनिक जिम्मेवारी त्रुटिरहित रूपमा पूरा गर्न निर्देशन दिएका थिए।
२७ श्रावण २०८३, बुधबार १०:१३