सहाराविहीन बालबालिकाको अभिभावक बन्दै चौतारा साँगाचोकगढी नगरपालिका


जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ले सहाराविहीन तथा जोखिममा रहेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ । नगर क्षेत्रभित्र अभिभावकविहीन, बुबाआमाले दोस्रो विवाह गर्दा अलपत्र परेका, अभिभावक कारागारमा रहेका, आर्थिक रूपमा विपन्न तथा टाढाको विद्यालयसम्म पुग्न नसक्ने अवस्थाका बालबालिकालाई संरक्षण र शिक्षाको अवसर प्रदान गर्न नगरपालिकाले “शहीद स्मृति आवासीय बालग्राम” सञ्चालन गरिरहेको छ ।


नगरपालिकाले बालग्राममार्फत बालबालिकालाई सुरक्षित आवास, दैनिक भोजन, लत्ताकपडा, स्वास्थ्य हेरचाह तथा शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी वहन गर्दै आएको जनाएको छ । यस अभियानले असहाय बालबालिकालाई नयाँ जीवन र भविष्य निर्माणको आधार दिएको स्थानीयको भनाइ छ ।
यसैक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–१४ का ६ र ४ वर्षका दुई बालकलाई काभ्रेको कुन्ताबाट उद्धार गरी सिन्धुपाल्चोकको मेलचौरस्थित बालग्राममा ल्याइएको छ । नगर उपप्रमुख सीता थापाको संयोजनमा गरिएको उद्धारपछि ती बालकलाई सुरक्षित आश्रयमा राखिएको हो । ती बालककी आमाले दोस्रो विवाह गरेकी छन् भने उनका बुबा कारागारमा रहेका कारण बालबालिका असुरक्षित अवस्थामा पुगेका थिए ।
अब उनीहरूले बालग्राममा सुरक्षित वातावरण, नियमित शिक्षा र उज्ज्वल भविष्य निर्माणको अवसर पाउने नगरपालिकाले जनाएको छ । स्थानीय तहले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै लागू गर्दै असहाय बालबालिकाको जीवनमा आशा र भरोसाको दियो बालिरहेको भन्दै नागरिकहरूले नगरपालिकाको प्रशंसा गरेका छन् ।
“मानवताभन्दा ठूलो धर्म केही हुँदैन” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै नगरपालिकाले थालेको यो अभियान धेरैका लागि प्रेरणादायी बनेको छ ।

२७ बैशाख २०८३, आईतवार ०६:२६