विश्व वातावरण दिवसको अवसरमा गोल्मादेवी माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित गोल्मादेवी माध्यमिक विद्यालयमा विश्व वातावरण दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
वातावरण संरक्षण, स्वच्छता, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले वातावरणीय संरक्षणका विविध पक्षलाई चित्रमार्फत सिर्जनात्मक ढंगले प्रस्तुत गरेका थिए।


प्रतियोगितामा उत्कृष्ट चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै विद्यालय प्रशासनले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। सम्मान कार्यक्रममा बोल्दै विद्यालयका शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्नुका साथै वातावरणप्रति जिम्मेवार नागरिक बन्न प्रेरणा मिल्ने बताएका थिए।


विद्यालयले पुरस्कृत विद्यार्थीहरूको आगामी शैक्षिक तथा सिर्जनात्मक यात्राको सफलताको कामना गर्दै यस उपलब्धिले अझ उत्कृष्ट कार्य गर्न ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै प्रतियोगितामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा वातावरण संरक्षणको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।

२७ जेष्ठ २०८३, बुधबार १०:१२