जनतापत्र, लिसंखुपाखर ।
लिसंखुपाखर गाउँपालिका–१ डाँसेमा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर ह्विलचेयर, स्टिकलगायत आवश्यक सहायक सामग्री प्रदान गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र आवश्यकताको पहिचान गरी दैनिक कामकाज तथा आवतजावतमा सहजता पु¥याउने उद्देश्यले गाउँपालिकाको सामाजिक विकास शाखाले घरदैलोमै पुगेर सामग्री वितरण गरेको हो।
गाउँपालिका उपाध्यक्ष एवं सामाजिक विकास शाखा संयोजक मिठुदेवी लामा, महिला तथा बालबालिका शाखाकी सामाजिक परिचालिका उर्मिला लामा, वडा सदस्य विनोद घिसिङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी लिसंखुपाखर गाउँपालिका समिति सभापति गंगाबहादुर लामालगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।
सामग्री वितरणका क्रममा उपाध्यक्ष लामाले अपाङ्गता भएका नागरिकका आवश्यकता र अधिकारलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँका अनुसार व्यक्तिको अवस्थाअनुसार आवश्यक सहयोग उपलब्ध गराउने कामलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।
घरमै पुगेर सेवा उपलब्ध गराउँदा अपाङ्गता भएका व्यक्तिलाई सामग्री लिन कार्यालयसम्म धाउनुपर्ने समस्या कम हुने र दैनिक गतिविधिमा सहजता आउने गाउँपालिकाको अपेक्षा छ। ह्विलचेयर तथा अन्य सहायक सामग्रीले उनीहरूको आवतजावतसँगै आत्मनिर्भरता र सामाजिक गतिविधिमा सहभागिता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै यसअघि पनि विभिन्न वडामा आवश्यकता पहिचान गरी सहायक सामग्री वितरण गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि वास्तविक आवश्यकता भएका व्यक्तिसम्म प्रत्यक्ष रूपमा सेवा पु¥याउने गरी घरदैलो अभियानलाई निरन्तरता दिने गाउँपालिकाको योजना छ।
२ भाद्र २०८३, मंगलवार १०:०५