मकवानपुर दुर्घटनाका घाइते न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं ल्याइयो

जनतापत्र, मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगीसहित चार घाइतेलाई काठमाडौं पठाइएको हो। दुर्घटनामा घाइते भएका उच्च अदालतका रजिष्ट्रार तारादत्त बडु र सवारी चालकलाई भने उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६, जुरिखेलमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा न्यायाधीश डाँगीसहित चालक छुनिलाल चौधरी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते भएका छन्।

प्रहरीका अनुसार लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको छ। थप उपचारका लागि काठमाडौं ल्याइएका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे उपचारपछि थप जानकारी आउने प्रहरीले जनाएको छ।

२ भाद्र २०८३, मंगलवार १०:४०