पत्रकार किशोर श्रेष्ठ तारिखमा रिहा

जनतापत्र, काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार श्रेष्ठलाई सोमबार तारिखमा रिहा गरिएको हो। अनुसन्धानका लागि उनी मंगलबार पुनः प्रहरीसमक्ष उपस्थित हुनेछन्।

श्रेष्ठ रिहा भएपछि जनआस्था कार्यालयतर्फ गएको जनआस्था अनलाइनका सम्पादक राजेन्द्र रिमालले जानकारी दिएका छन्।

यसअघि श्रेष्ठलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको भन्दै सर्वोच्च अदालतले उनलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार श्रेष्ठलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो।

२ भाद्र २०८३, मंगलवार १०:१९