लालुङ्पाल होमस्टे गुम्बाथाङको उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आशा

जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल हिमालको प्रवेशद्वारका रूपमा परिचित तथा धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले समृद्ध जुगल गाउँपालिका–३ गुम्बाथाङमा “लालुङ्पाल होमस्टे गुम्बाथाङ” को औपचारिक उद्घाटन गरिएको छ। यस उद्घाटनसँगै स्थानीय पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालिएको स्थानीयवासीहरूले बताएका छन्।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र जुगल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको १५ दिने होमस्टे ९घरबास० तालिम सफलतापूर्वक सम्पन्न भएपछि होमस्टेको उद्घाटन गरिएको हो। तालिम सम्पन्न भएसँगै स्थानीय समुदाय पाहुनालाई स्वागत गर्न पूर्ण रूपमा तयार भएको घोषणा गरिएको छ।

तालिममा स्थानीय २७ जना गृहिणी महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूलाई होमस्टे व्यवस्थापन, पाहुना सत्कार, सरसफाइ तथा स्वास्थ्य मापदण्ड, स्थानीय परिकारको प्रस्तुति, सांस्कृतिक संरक्षण, पर्यटन सेवा तथा आतिथ्य व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुगेको बताइएको छ।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु, महिला सशक्तीकरणलाई प्रोत्साहन गर्नु तथा ग्रामीण पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्नु रहेको छ। गुम्बाथाङ क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, धार्मिक आस्था र मौलिक संस्कृतिका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन्।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले जुगल क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्दै स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले होमस्टे सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण, आयआर्जन वृद्धि तथा गाउँमै आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए। साथै, गुम्बाथाङलाई नमुना ग्रामीण पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ।

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहभागी दिदीबहिनीहरूलाई बधाई दिँदै “लालुङ्पाल होमस्टे गुम्बाथाङ” को सफल सञ्चालन, दीर्घकालीन प्रगति तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

२२ जेष्ठ २०८३, शुक्रबार ०७:२५