जनतापत्र चौतारा ।
सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाले नदीजन्य निर्माण सामग्रीबाट संकलन हुने राजश्वलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन ‘डिजिटल खोला’ अभियान कार्यान्वयनमा ल्याएको छ।

नगरपालिकाले यस अभियानमार्फत कर संकलन प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै राजश्व चुहावट नियन्त्रण र आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
विहीबार नगर उपप्रमुख सीता थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, वडा नं. १२ का अध्यक्ष दीपेन्द्र नेपाल, वडा नं. १४ का अध्यक्ष उद्धव नेपाल, कार्यपालिका सदस्य सीता पाडेल, नगरपालिकाका कर्मचारी तथा सञ्चारकर्मीको टोलीले नगरभित्र सञ्चालनमा रहेका चारवटा कर संकलन केन्द्रको स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा प्रत्येक कर संकलन केन्द्रमा सिसिटिभी क्यामेरा जडान गरिएको, अनलाइन कर संकलन प्रणाली सञ्चालनमा ल्याइएको तथा राजश्व रकम सिधै नगरपालिकाको वित्तीय प्रणाली (सूत्र) मा जम्मा हुने व्यवस्था मिलाइएको जानकारी दिइएको थियो। नगरपालिकाका अनुसार यस व्यवस्थाले नगद कारोबारमा हुने त्रुटि तथा सम्भावित अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

नगरपालिकाले विगतमा नदीजन्य सामग्री उत्खनन तथा निकासीको ठेक्का प्रक्रिया अपेक्षाअनुसार सफल हुन नसकेपछि आफ्नै जनशक्ति परिचालन गरेर गिटी, बालुवा तथा ढुंगाको निकासीबापत कर संकलन गर्दै आएको छ। यही अनुभवलाई आधार बनाएर अहिले प्रविधिमा आधारित कर संकलन प्रणाली लागू गरिएको नगरपालिकाको भनाइ छ।
‘डिजिटल खोला’ अभियानले राजश्व संकलनमा पारदर्शिता, वास्तविक तथ्यांकको अभिलेखीकरण, कर छली नियन्त्रण तथा सेवा प्रवाहलाई आधुनिक बनाउने अपेक्षा गरिएको छ। साथै करदाताले तिरेको रकम सिधै नगरपालिकाको प्रणालीमा अभिलेख हुने भएकाले आर्थिक अनुशासन कायम गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
यद्यपि, नगरपालिकाको यो नयाँ अभ्याससँगै केही प्रश्नहरू पनि उठेका छन्। आगामी दिनमा नदीजन्य सामग्रीको ठेक्का प्रक्रिया सफल भई निजी क्षेत्रमार्फत व्यवस्थापन हुने अवस्था आए अहिले जडान गरिएका डिजिटल उपकरण, सिसिटिभी, कम्प्युटर तथा अन्य पूर्वाधारको उपयोग कसरी गरिने भन्ने विषयमा चासो व्यक्त हुन थालेको छ। डिजिटल प्रणालीका लागि गरिएको लगानी दीर्घकालीन रूपमा उपयोगी हुने वा नहुने भन्ने विषयमा स्पष्ट कार्ययोजना आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।
स्थानीयवासी तथा सञ्चारकर्मीहरूले डिजिटल प्रविधिको प्रयोगलाई सकारात्मक कदमका रूपमा लिँदै यसको प्रभावकारिता नियमित अनुगमन, पारदर्शी कार्यान्वयन र स्पष्ट नीतिमार्फत सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार ‘डिजिटल खोला’ अभियानले अपेक्षित परिणाम दिन सके नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै अन्य स्थानीय तहका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्छ।
नगरपालिकाले भने यो अभियानलाई ‘डिजिटल नेपाल’ को अवधारणासँग जोडिएको स्थानीय नवप्रयोगका रूपमा व्याख्या गर्दै राजश्व व्यवस्थापनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यका साथ अघि बढाइएको जनाएको छ।

८ श्रावण २०८३, शुक्रबार २१:०८