टीका सुबेदि , सिन्धुपाल्चोक, । पर्यटकीय सम्भावनाले भरिपूर्ण सुनकोसी नदी किनार क्षेत्रलाई थप आकर्षक, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले वृहत् वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ। बनेदेउ–बलेफी सडक खण्डअन्तर्गत पर्ने पर्यटकीय सुनकोसी करिडोर क्षेत्रमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोक, होटल तथा रिसोर्ट व्यवसायी तथा सडक विभागको त्रिपक्षीय समन्वयमा सौन्दर्यमूलक फूल प्रजातिका बिरुवा रोपण कार्यको शुभारम्भ गरिएको हो।

सुनकोसी नदी किनारलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानअन्तर्गत कल्की, विरेन्द्र फूल, टेकोमा, असारे, करविर, गोल्डमोहरलगायतका विभिन्न प्रजातिका करिब पाँच सय बिरुवा रोपिएको जनाइएको छ। सडक किनारमा रोपिएका यी बिरुवाले भविष्यमा आकर्षक फूल फुलाउने तथा यात्रु र पर्यटकलाई प्राकृतिक सौन्दर्यको अनुभूति गराउने अपेक्षा गरिएको छ।
हालका वर्षहरूमा सुनकोसी नदी किनार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। विशेषगरी र्याफ्टिङ, बञ्जी जम्प, क्याम्पिङ, नदी किनार विश्राम तथा प्राकृतिक दृश्यावलोकनका लागि यो क्षेत्र प्रसिद्ध छ। यही सम्भावनालाई थप सशक्त बनाउने उद्देश्यले सडक किनारको हरियाली विस्तार र सौन्दर्यकरण अभियान सञ्चालन गरिएको सरोकारवालाहरूले बताएका छन्।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै सहभागीहरूले वातावरण संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूका अनुसार सडक किनारमा योजनाबद्ध रूपमा फूल तथा छायाँ दिने बिरुवा रोपिँदा क्षेत्रको सौन्दर्य बढ्नुका साथै वातावरणीय सन्तुलन कायम राख्न पनि मद्दत पुग्नेछ। यसले धुलो नियन्त्रण, हरियाली विस्तार तथा स्थानीय जैविक विविधता संरक्षणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।

सुकुटे पर्यटन व्यावसायि सघका अध्यक्ष महेन्द्र थापाले वृक्षारोपण अभियान केवल बिरुवा रोप्ने कार्यमा मात्र सीमित नभई यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा केन्द्रित रहेको बताए। उनका अनुसार रोपिएका बिरुवाहरूको संरक्षण, सिँचाइ, गोडमेल तथा आवश्यक हेरचाहको सम्पूर्ण जिम्मेवारी स्थानीय होटल तथा रिसोर्ट व्यवसायीहरू र र्याफ्टिङ एसोसिएसनले लिने प्रतिबद्धता व्यक्त गरेका छन्। सोही प्रतिबद्धताअनुसार वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले सुनकोसी करिडोरलाई नेपालको नमुना पर्यटकीय सडकका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनीहरूका अनुसार सडक किनार हरियाली र फूलहरूले सजिएपछि यहाँ आउने पर्यटकको अनुभव अझ सुखद बन्नेछ। साथै, फोटो तथा भिडियो खिच्न चाहने पर्यटकका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।

स्थानीयवासीहरूले समेत वृक्षारोपण अभियानको स्वागत गर्दै वातावरण संरक्षणका यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। उनीहरूका अनुसार जलवायु परिवर्तनका असर बढिरहेका बेला हरियाली विस्तार र वृक्षारोपण अभियानले प्राकृतिक वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयका कर्मचारी, सडक विभागका प्रतिनिधि, होटल तथा रिसोर्ट व्यवसायी, र्याफ्टिङ एसोसिएसनका सदस्य तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकहरूले आगामी दिनमा पनि सुनकोसी करिडोरका अन्य क्षेत्रहरूमा यस्तै वृक्षारोपण तथा सौन्दर्यकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।
पर्यटन, वातावरण र स्थानीय समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको यस अभियानले सुनकोसी नदी किनार क्षेत्रलाई अझ आकर्षक, स्वच्छ र हराभरा बनाउँदै दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

४ श्रावण २०८३, सोमबार १९:५१