जनतापत्र,मेलम्ची ।
स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र उद्यमशीलतालाई टेवा पुर्याउने उद्देश्यले मेलम्ची नगरपालिकाले ‘कोसेली घर’ सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको छ।

नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको कोसेली घरमार्फत नगरभित्र उत्पादन हुने कृषि उपज, हस्तकला सामग्री, घरेलु उत्पादन, स्थानीय खाद्य परिकार तथा अन्य मौलिक वस्तुलाई एउटै स्थानबाट बिक्री–वितरण गर्ने व्यवस्था गरिनेछ। यसले स्थानीय उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई गुणस्तरीय स्थानीय सामग्री सहज रूपमा खरिद गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
नगरपालिकाका अनुसार कोसेली घर सञ्चालनमा आएपछि स्थानीय किसान, महिला उद्यमी, युवा तथा साना व्यवसायीले आफ्ना उत्पादन बिक्रीका लागि थप अवसर प्राप्त गर्नेछन्। यसबाट उत्पादकले आफ्ना वस्तुको उचित मूल्य पाउने, स्थानीयस्तरमा रोजगारीका अवसर विस्तार हुने तथा आयआर्जन वृद्धि भई नगरको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले स्थानीय उत्पादनमा संलग्न व्यक्ति, समूह, सहकारी तथा उद्यमीलाई आफ्ना उत्पादनसहित सम्पर्कमा आउन आग्रह गरेको छ। स्थानीय उत्पादनलाई फराकिलो बजारसँग जोड्न आवश्यक समन्वय र सहकार्य गर्न नगरपालिका प्रतिबद्ध रहेको जनाएको छ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ अघि बढाइएको यो पहल सफल भए मेलम्ची नगरपालिकाको आर्थिक विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
८ श्रावण २०८३, शुक्रबार ०७:३५