रसुवा बाढीप्रति एमाले सिन्धुपाल्चोकको दुःख व्यक्त, तत्काल उद्धार र राहतको माग

सिन्धुपाल्चोक — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न बस्तीमा ठूलो क्षति पुगेको भन्दै नेकपा एमाले सिन्धुपाल्चोकले दुःख व्यक्त गरेको छ। पार्टीले विपद्मा परेका नागरिकको तत्काल उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका लागि सरकारसँग प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका अध्यक्ष होमनारायण श्रेष्ठद्वारा जारी प्रेस वक्तव्यमा रसुवाको बाढीले तल्लो जनजीवन प्रभावित भएको उल्लेख गरिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका नागरिक प्रभावित बनेको भन्दै पार्टीले पीडितप्रति सहानुभूति प्रकट गरेको हो।

वक्तव्यमा विगतका विपद्का घटनालाई स्मरण गर्दै विपद्का कारण नागरिकले पटक–पटक ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गरिएको छ। जुरे पहिरो, भोटेकोशी बाढी, २०७२ सालको विनाशकारी भूकम्प, लिपिङ पहिरो र मेलम्ची बाढीजस्ता घटनाबाट सिन्धुपाल्चोकले ठूलो क्षति बेहोरेको एमालेले जनाएको छ।

विशेषगरी सिन्धुपाल्चोकलाई जन्मभूमि बनाएर रसुवा, नुवाकोटलगायत क्षेत्रमा विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा सामाजिक क्षेत्रमा संलग्न नागरिक विपद्पछि सम्पर्कविहीन भएको खबरले चिन्तित बनाएको पार्टीको भनाइ छ। उनीहरूको अवस्था तत्काल पत्ता लगाई परिवारजनलाई जानकारी गराउन तथा सम्भावित सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्य तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

एमालेले विपद्मा परेका नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको जनाएको छ। उद्धारमा ढिलाइ नगरी उपलब्ध जनशक्ति, स्रोत, साधन र प्रविधिको अधिकतम परिचालन गर्न सरकारसँग माग गरिएको छ। प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवासलगायत राहत सामग्री पुर्‍याउन र विस्थापित परिवारको सुरक्षित पुनर्स्थापनाको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

विपद्को कठिन अवस्थामा संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था तथा आम नागरिकबीच एकीकृत सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको वक्तव्यमा उल्लेख छ। एमालेले आफ्ना नेता, कार्यकर्ता, जनप्रतिनिधि, जनसंगठन तथा शुभेच्छुकलाई खोज, उद्धार, राहत र मानवीय सहयोगमा सक्रिय रूपमा जुट्न आग्रह गरेको छ।

पार्टीले विपद् व्यवस्थापनलाई घटना घटेपछि गरिने प्रतिक्रियात्मक काममा मात्र सीमित नगरी पूर्वतयारी, जोखिम पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती विकास तथा प्रभावकारी उद्धार संयन्त्रसहितको दीर्घकालीन नीतिका रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

वक्तव्यमा बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै सम्पर्कविहीन तथा बेपत्ता नागरिकको शीघ्र खोज तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

एमाले सिन्धुपाल्चोकले जारी गरेको वक्तव्यमा विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर मानवीय सहयोग र उद्धारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।ो एक मात्र माध्यम हुन सक्दैन ।

१२ भाद्र २०८३, शुक्रबार २०:३०