काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले कुल १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।
नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि उद्धार तथा राहतका लागि कोषमा सहयोग जुट्न थालेको हो।
सरकारले राहत कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागत रूपमा एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयंमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेले भने मन्त्रालयमै पुगेर रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ सहयोगसँगै कोषमा रहेको कुल बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात रहेको थियो।
यसैबीच, बिहीबार मात्रै करिब ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रहरूले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।
१२ भाद्र २०८३, शुक्रबार १६:३९