रसुवा बाढीपछि सामाजिक सञ्जालमा गलत सूचना र नक्कली सामग्रीको बाढी

काठमाडौं — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सामाजिक सञ्जालमा वास्तविक घटनासँग सम्बन्ध नभएका तस्बिर, भिडियो र एआईबाट तयार गरिएका सामग्री तीव्र गतिमा फैलिएका छन्। विपद्को समयमा सही सूचना पाउनुपर्ने अवस्थामा यस्ता सामग्रीले सर्वसाधारणमा भ्रम, डर र अन्योल बढाएको छ।

बाढी आएको केही समयमै विभिन्न सामाजिक सञ्जालमा नेपालकै घटनाको दृश्य भन्दै पुराना तथा विदेशी विपद्का भिडियोहरू पोस्ट हुन थाले। केही सामग्री भने कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको पाइएको छ। ‘भ्यूज’ र ‘भाइरल’ हुने प्रतिस्पर्धाले सामग्रीको सत्यता जाँच्नेभन्दा तत्काल पोस्ट र सेयर गर्ने प्रवृत्ति बढेको देखिन्छ।

त्यस्तै एउटा भिडियोमा गृहमन्त्री सुरुङभित्रै पुगेर उद्धारमा खटिएको दाबी गरिएको थियो। पछि उक्त भिडियो नेपालमा खिचिएको नभई भारतको उत्तराखण्डमा भएको सुरुङ उद्धारसँग सम्बन्धित रहेको तथ्य खुलेको थियो। पुरानो भिडियोमा नयाँ घटनाको विवरण जोडेर सामाजिक सञ्जालमा फैलाइएको थियो।

यसैगरी बाढीको विनाश देखाउने भन्दै पोस्ट गरिएको अर्को भिडियो पनि एआईबाट तयार गरिएको भेटिएको छ। ठूलो संख्यामा हेरिएको उक्त सामग्रीलाई तथ्यजाँच गर्दा वास्तविक घटनाको भिडियो नभएको पुष्टि भएको थियो।

नेपालमा फैलिएका यस्ता सामग्रीमध्ये केही विदेशी विपद्का दृश्यसमेत छन्। रसुवामा हिमताल फुटेर बाढी आएको दाबी गर्दै फैलाइएको एउटा भिडियो वास्तवमा अमेरिकाको अलास्कास्थित कोलम्बिया ग्लेसियर क्षेत्रमा भएको घटनासँग सम्बन्धित रहेको तथ्यजाँचबाट खुलेको छ।

रसुवाको बाढीअघिको र बाढीपछिको दृश्य भन्दै दुईवटा तस्बिर जोडेर फैलाइएको सामग्रीसमेत नक्कली रहेको पाइएको छ। यसले वास्तविक घटनाका तस्बिर र एआई वा पुराना सामग्रीबीच छुट्याउन सर्वसाधारणलाई थप कठिन बनाएको छ।

तथ्यहीन सामग्रीमाथि निगरानी

सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र बीभत्स दृश्यप्रति नेपाल प्रेस काउन्सिलले निगरानी बढाएको छ। पछिल्लो चार दिनको अनुगमनका क्रममा ७२ वटा अकाउन्टलाई सामग्री हटाउन निर्देशन दिइएको काउन्सिलले जनाएको छ।

विपद्सँग सम्बन्धित गलत सूचना र आपत्तिजनक दृश्यबारे उजुरी लिन विशेष पोर्टलसमेत सञ्चालनमा ल्याइएको छ। काउन्सिलका अनुसार शनिबार साँझसम्म उक्त पोर्टलमा १०१ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये धेरै व्यक्तिगत सामाजिक सञ्जाल अकाउन्टसँग सम्बन्धित छन्।

तथ्यजाँच गर्ने संस्थाहरूका अनुसार रसुवा बाढीका नाममा फैलिएका धेरै सामग्री एआईबाट सिर्जना गरिएका वा अन्य घटनाका भिडियो–तस्बिरलाई नयाँ सन्दर्भ दिएर प्रसारित गरिएका छन्।

विपद्का बेला गलत सूचना किन छिटो फैलिन्छ ?

ठूलो विपद् भएपछि घटनास्थलबाट तत्काल पर्याप्त सूचना आउन नसक्दा सूचनाको रिक्तता सिर्जना हुन्छ। यही अवस्थामा मानिसहरू सामाजिक सञ्जालमा उपलब्ध सामग्रीलाई नै तत्कालको सूचनाको स्रोत मान्ने गर्छन्।

भ्यूज र फलोअर बढाउने उद्देश्यले केही कन्टेन्ट क्रिएटरले सामग्रीको वास्तविक स्रोत नखोजी आकर्षक भिडियो तथा तस्बिर पोस्ट गर्ने गरेका छन्। सामाजिक सञ्जालको एल्गोरिदमले पनि प्रयोगकर्ताको रुचिसँग मिल्ने सामग्री पटक–पटक देखाउने भएकाले एउटा गलत सामग्री छोटो समयमा ठूलो संख्यामा मानिससम्म पुग्न सक्छ।

यस्ता गलत सूचनाले उद्धार र राहत कार्यमा समेत समस्या निम्त्याउन सक्छ। सुरक्षित स्थानमा पुगिसकेका व्यक्तिको पुरानो भिडियो पुनः फैलाउँदा उनीहरू अझै बेपत्ता रहेको गलत सन्देश जान सक्छ। त्यस्तै, ‘फेरि ठूलो बाढी आउँदैछ’ जस्ता अपुष्ट दाबीले पहिले नै त्रसित मानिसमा थप भय सिर्जना गर्न सक्छ।

बीभत्स दृश्य र संवेदनहीनता पनि बढ्दो

गलत सूचनासँगै बाढीमा मृत्यु भएका व्यक्तिका शव तथा अन्य संवेदनशील दृश्यहरू पनि सामाजिक सञ्जालमा निर्बाध रूपमा फैलिएका छन्। यस्ता सामग्रीले पीडित परिवारको पीडा बढाउनुका साथै मानवीय संवेदनशीलतामाथि समेत प्रश्न उठाएको छ।

आफ्ना श्रीमान् सुरुङभित्र हराइरहेको भन्दै सरकारसँग उद्धारको अपिल गरिरहेकी एक महिलाको भिडियोमा आएका केही टिप्पणीले सामाजिक सञ्जालमा देखिएको संवेदनहीनताको उदाहरण प्रस्तुत गरेको छ। श्रीमान्को अवस्थाबारे जानकारी नपाएर भावविह्वल बनेकी ती महिलालाई सहयोग र सहानुभूति दिनुपर्नेमा केही प्रयोगकर्ताले अपमानजनक तथा व्यंग्यात्मक टिप्पणी गरेका थिए।

विज्ञहरूले विपद्को समयमा कुनै पनि फोटो, भिडियो वा सूचना स्रोत नखोली सेयर नगर्न, आधिकारिक निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट पुष्टि भएपछि मात्र सूचना फैलाउन आग्रह गरेका छन्। यसो गर्दा पीडितलाई थप मानसिक पीडा हुनबाट जोगाउन र उद्धार तथा राहत कार्यमा हुने भ्रमसमेत कम गर्न सकिने उनीहरूको भनाइ छ।

१४ भाद्र २०८३, आईतवार १९:२३