मेलम्ची नगरपालिका नगर सभाको सत्रौं अधिवेशन सम्पन्न


जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिका नगर सभाको सत्रौं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको हो ।

विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित भएको थियो ।
निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावहरू सर्वसम्मतले पारित भएको नगरसभाका सभाध्यक्ष तामाङले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८१–८२ को माघ २७ गते सम्म सम्पादन भएका मुख्य मुख्य कामहरूको विवरण नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष तामाङले प्रस्तुत गर्नुभयो ।

उहाँले निर्वाचित भएको २ बर्ष ८ महिनाको अवधिमा योजना निर्माण, पुर्वाधार निर्माण, सुशासन र नगरको दिगो बिकासमा एउटा इटा थप्ने कामको शुरूवात भएको जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार, चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म संघिय सरकार, प्रदेश सरकार बाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र नगरपालिकाको आन्तरिक आम्दानी गरि कुल जम्मा ५९ करोड ४२ लाख ९४ हजार ४ सय २३ रूपैयाँ ७५ पैशा आम्दानि भएको छ भने खर्च तर्फ २८ करोड २६ लाख १८ हजार ७ सय ४० रूपैयाँ ९४ पैशा (३४.५६ प्रतिशत) र पुँजीगत खर्च तर्फ ८.६३ प्रतिशत गरि जम्मा १९.८८ प्रतिशत खर्च भएको छ ।

बजेट बक्तव्य, नगरपालिकाको आर्थिक ऐन २०८१ को पहिलो संशोधन विधेयक २०८१, न्यायिक समितिको प्रतिवेदन २०८१÷०८२, नगरपालिकाको विनियोजन ऐन २०८१ को संशोधन विधेयक २०८१ नगरसभामा उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानल
े नगरसभामा पेश गर्नुभयो । नगरपालिकाको चालू आर्थिक बर्षको कुल बजेट एक अर्ब अन्ठाउन्न करोड चौहत्तर लाख छपन्न हजार आठ सय तेत्तीस रूपैयाँ उनान्सत्तरी पैसा रहेको छ ।
आर्थिक ऐन संशोधन तथा विनियोजन विधेयक सभामा उपप्रमुख उमा प्रधानले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्राहरुलाई नगद रु. १० हजारसहित उक्त कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

२८ माघ २०८१, सोमबार १३:३९