जनतापत्र,मकवानपुर ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आर्थिक सहयोग गरेको छ। बाढीका कारण आफन्त गुमाएका, बेपत्ता भएका तथा पारिवारिक रूपमा ठूलो क्षति व्यहोरेका पत्रकारका परिवारलाई महासंघले सहयोग उपलब्ध गराएको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। विपद्को प्रत्यक्ष असर पत्रकार समुदायमा समेत परेको थियो। पत्रकारहरूले नागरिकलाई घटनास्थलबाट सूचना सम्प्रेषण गरिरहेकै अवस्थामा कतिपयले आफ्नै परिवार र सम्पत्तिमा अपूरणीय क्षति व्यहोर्नुपरेको थियो।
बाढीबाट सबैभन्दा ठूलो पारिवारिक क्षति व्यहोर्नेमा रसुवाका पत्रकार निराजन पौडेल रहेका छन्। बाढीका कारण उनले परिवारका पाँच सदस्य गुमाएका छन्। उनका बुवा, आमा, काका, काकी र बहिनीको बाढीमा ज्यान गएको हो। परिवारका सदस्यसँगै उनको घर तथा सम्पत्तिमा समेत क्षति पुगेको छ।

पौडेल अहिले काठमाडौंको टोखामा आफन्तको निधनपछि किरियामा बसेका छन्। उनी रातोपाटी अनलाइनमा कार्यरत छन् भने नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्यसमेत हुन्। स्थायी रूपमा नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे निवासी पौडेल रोजगारीका सिलसिलामा काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन्।
महासंघ बागमती प्रदेशले पौडेलसँगै बाढी तथा विपद्बाट प्रभावित अन्य पत्रकार र उनीहरूका परिवारलाई पनि सहयोग गरेको जनाएको छ। महासंघका अनुसार रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा बाढीमा बेपत्ता भएका नुवाकोटका पत्रकार राजकुमार नेपालीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

प्रभावित पत्रकारको अवस्था र क्षतिको प्रकृति मूल्यांकन गरी सम्बन्धित जिल्ला शाखाको समन्वयमा तथा प्रत्यक्ष भेटघाटमार्फत सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ। विपद्का बेला पत्रकारलाई संस्थागत रूपमा साथ दिनुपर्ने दायित्वअनुसार सहयोग कार्यक्रम सञ्चालन गरिएको महासंघको भनाइ छ।
सहयोग हस्तान्तरण तथा समन्वयमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको नेतृत्वमा सम्बन्धित जिल्ला शाखाका पदाधिकारीहरू सहभागी भएका थिए। नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतले प्रभावित पत्रकार तथा परिवारसँग समन्वय गरेका थिए।
बाढीले पत्रकारका परिवारमा मात्र क्षति पुर्याएको छैन। विपद्का कारण सञ्चार क्षेत्रमा समेत प्रत्यक्ष असर परेको महासंघले जनाएको छ। विभिन्न स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा सञ्चारकर्मीलाई घटनास्थलसम्म पुग्न समस्या भएको छ। विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा समाचार संकलन र सम्प्रेषण प्रभावित भएको छ भने कतिपय सञ्चार उपकरणमा समेत क्षति पुगेको बताइएको छ।
विपद्को समयमा सही र समयमै सूचना नागरिकसम्म पुर्याउने जिम्मेवारी पत्रकारको हुने भएकाले प्रभावित क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको सुरक्षा र आवश्यक स्रोतसाधनमा राज्य तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरले बताएका छन्।
उनका अनुसार प्राकृतिक विपत्तिमा परेका पत्रकारलाई राहत मात्र नभई उनीहरूको पेशागत निरन्तरता कायम राख्न आवश्यक सहयोग पनि आवश्यक छ। सञ्चार उपकरणको क्षति, यातायातको समस्या तथा सञ्चार सेवा अवरुद्ध हुँदा पत्रकारले थप चुनौती सामना गर्नुपरेको भन्दै उनले विपद्का समयमा पत्रकारको सुरक्षा र सञ्चारको निरन्तरताका लागि सरोकारवाला निकायसँग समन्वय गरिने बताए।
महासंघले बाढीबाट प्रभावित जिल्लामा बेपत्ता नागरिकको खोजी, प्रभावितको उद्धार तथा घाइतेको उपचारलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै विपद्बाट विस्थापित तथा क्षति व्यहोरेका परिवारको पुनःस्थापना र राहत वितरणलाई प्रभावकारी बनाउनसमेत ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघले आफ्ना सदस्य तथा उनीहरूका परिवार विपद्मा पर्दा संस्थागत रूपमा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। बाढीले सिर्जना गरेको मानवीय संकटका बीच पत्रकारलाई गरिएको सहयोगले पीडामा रहेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
२३ भाद्र २०८३, मंगलवार ०६:००