रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने विभिन्न जिल्लाका सयौँ मानिस अझै सम्पर्कविहीन छन्। बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ।
नेपाली सेनाले बिहीबार बिहान रसुवाको टिमुरे र हाकु क्षेत्रबाट १२३ जनाको उद्धार गरेको जनाएको छ। टिमुरेबाट उद्धार गरिएका ९५ जनामध्ये आठ जना विदेशी छन्। हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ। टिमुरे क्षेत्रमा हराइरहेका २१ भारतीय पर्यटकको समेत उद्धार भइरहेको सेनाले जनाएको छ।
बाढीपछि सप्तरीका चार इन्जिनियरसहित कम्तीमा ६ जना युवा सम्पर्कविहीन छन्। उनीहरू विभिन्न जलविद्युत् आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ। त्यस्तै सप्तरीकै बोदे बरसाइनका तीन दाजुभाइ पनि बुधबार बिहानदेखि परिवारको सम्पर्कमा छैनन्।
सल्यानबाट रसुवा पुगेका ४८ जना पनि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय र स्थानीय तहले जनाएको छ। उनीहरूमध्ये अधिकांश मजदुरीका लागि रसुवा पुगेका थिए।
त्यसैगरी मकवानपुरका ४० जनाको अवस्थाबारे परिवारजनले जिल्ला प्रशासन कार्यालयसँग जानकारी मागेका छन्। इलाम र पाँचथरका केही नागरिकसमेत सम्पर्कविहीन रहेको बताइएको छ। गोसाइँकुण्डका लागि काठमाडौंस्थित नयाँ बसपार्कबाट छुटेको बसका केही यात्रुसँग समेत सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।
बाढीबारे पूर्वसूचना दिइएको दाबीसमेत गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रमा करिब ७ लाख एसएमएस पठाएको जनाएको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको थियो।
यसैबीच, धादिङको ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको र कर्मचारीले सात दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन्। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
बाढीबाट भएको क्षतिप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायता साझेदारहरू परिचालन भइरहेको बताएका छन्।
बाढीपछि अहिलेको मुख्य प्राथमिकता बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको सुरक्षित स्थानान्तरण बनेको छ।
११ भाद्र २०८३, बिहीबार १०:०३