सिन्धुपाल्चोक जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न

सुनिता रखाल,चौतारा ।
सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको सभाहल चौतारामा घोषणा सभा सम्पन्न भएको छ।

जिल्ला पूर्णखोप समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै उमेर समूहका बालबालिकाले नियमित रूपमा पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्दै आगामी दिनमा पनि यस उपलब्धिलाई दिगो बनाउने प्रतिबद्धतासहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्लाका सबै पालिकाले आफ्नो क्षेत्रमा पूर्णखोप सुनिश्चितता कायम राख्न खेलेको भूमिकाको प्रशंसा गरिएको थियो। नियमित खोप सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको सक्रियता, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा अभिभावकहरूको सहयोगका कारण जिल्लाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गर्न सफल भएको बताइएको छ।

वक्ताहरूले पूर्णखोप सुनिश्चितता केवल घोषणा गर्ने विषय मात्र नभई आगामी वर्षहरूमा पनि प्रत्येक बालबालिकाले समयमै खोप पाउने वातावरण कायम राख्नु सबैको साझा जिम्मेवारी भएकोमा जोड दिए। खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण र बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप अभियानलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा जिल्लाका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, जिल्ला स्वास्थ्य कार्यालय, विकास साझेदार संस्था तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घोषणा सभाले पूर्णखोप सुनिश्चिततालाई दिगो बनाउँदै स्वस्थ र सुरक्षित बालबालिकाको भविष्य निर्माणमा सबै पक्षको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

३० असार २०८३, मंगलवार ११:०२