जनतापत्र,सिन्धुपाल्चोक ।
बाह्रबिसे नगरपालिका र भक्तपुरको दुवाकोटस्थित Kathmandu Medical College,बीच नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ।

सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका नागरिकहरूले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य उपचार गराउँदा २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। साथै आर्थिक रूपमा अति विपन्न १० जना बिरामीलाई शतप्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको पहलमा सम्पन्न उक्त सम्झौताले विशेषगरी आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। नगरवासीलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको प्रयासस्वरूप यो सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सम्झौताप्रति अस्पतालका अध्यक्ष तथा समाजसेवी म्च. क्गलष् िक्जबचmब ले सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न अस्पताल प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले विपन्न तथा उपचारबाट वञ्चित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न यस्ता सहकार्य प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।


नगरप्रमुख बस्नेतले स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत उपचारको पहुँचमा ल्याउन नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो। उहाँका अनुसार यो सम्झौताले नगरवासीलाई राहत पुग्नुका साथै स्वास्थ्य क्षेत्रमा स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
स्थानीयवासीले पनि यस सम्झौताले उपचार खर्च घटाउन र आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन्।
२७ जेष्ठ २०८३, बुधबार ०९:५९