बाढीले महाकालीदेखि कालीगण्डकीसम्मका झोलुङ्गे पुलमा क्षति

काठमाडौं — पछिल्ला दिनमा परेको लगातार वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा रहेका झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार सुदूरपश्चिमको महाकाली नदी क्षेत्रदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका पुल प्रभावित भएका छन्।

स्थानीय पूर्वाधार विकास विभागले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। तर बाढी र पहिरोका कारण सडक तथा यातायात सञ्जाल अवरुद्ध भएकाले प्राविधिक टोली प्रभावित स्थानसम्म पुग्न नसक्दा क्षतिको यकिन विवरण तयार पार्न कठिनाइ भइरहेको छ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीका अनुसार विभिन्न स्थानका झोलुङ्गे पुलमा क्षति पुगेको सूचना प्राप्त भए पनि सबै क्षेत्रको स्थलगत विवरण आउन बाँकी छ।

उनका अनुसार जिल्लास्तरमा विभागका कार्यालय सीमित हुनु र प्रदेशस्तरमा समेत कार्यालयको संख्या कम हुनुका कारण क्षतिको विवरण संकलनमा थप चुनौती देखिएको छ। सडक खुलेपछि प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पठाएर अवस्थाको विस्तृत अध्ययन गरिनेछ।

महाकाली क्षेत्रमा पुलको पिल्लर भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको छ।

कुल १ हजार ४ सय ५३ मिटर लामो उक्त पुलमा आठवटा पिल्लर रहेका छन्। तीमध्ये पिल्लर नम्बर ३ भाँचिएको जनाइएको छ।

पिल्लरमा क्षति पुगेपछि दोधारातर्फ पुलको करिब ५.६ मिटर लामो मध्यभाग माथितर्फ उठेको छ। यसका कारण पुलबाट नियमित आवतजावत गर्न समस्या भएको छ।

बाढीका कारण पुलको पिल्लरसमेत भत्किएपछि आवागमन प्रभावित भएको हो। विभागले प्रभावित अन्य झोलुङ्गे पुलको अवस्था पनि क्रमशः संकलन गरिरहेको जनाएको छ।

१४ आश्विन २०८३, बुधबार १२:२५