धरान — उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि उनका आफन्तले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार तोडफोड गरेका छन्।
धरान उपमहानगरपालिका–१५ की दीपिका पेट दुखेको समस्या लिएर मंगलबार बिहान करिब साढे ७ बजे प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा राति साढे ८ बजे उनको मृत्यु भएको थियो।
बालिकाको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रतिष्ठानको निर्देशक कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा क्षति पुर्याएका हुन्।
आफन्तले मागे छानबिन र कारबाही
दीपिकाका दाजु भूपेन्द्र तामाङले बच्चा वार्डमा खटिएका चिकित्सकको लापरबाहीका कारण बहिनीको ज्यान गएको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरेका छन्।
आफन्तले उपचारमा संलग्न चिकित्सकको टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र दीपिकाको उपचारमा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले बेहोर्नुपर्ने माग पनि राखेका छन्।
त्यस्तै, तोडफोडमा संलग्न आफन्तमाथि कारबाही नगर्न तथा मृतकका परिवारका सदस्यलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्।
प्रतिष्ठान भन्छ– जटिल रोगका कारण मृत्यु
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले भने दीपिकाको उपचार स्वास्थ्यसम्बन्धी निर्धारित प्रोटोकलअनुसार नै गरिएको दाबी गरेका छन्।
उनका अनुसार चिकित्सकीय लापरबाहीका कारण नभई बालिकामा रहेको जटिल स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो। उपचारका क्रममा मुटुसम्बन्धी समस्या देखिएपछि सिटी स्क्यान गर्नसमेत कठिनाइ भएको उनले बताए।
घटनाको वास्तविक अवस्था पत्ता लगाउन प्रतिष्ठानले छानबिन समिति गठन गर्ने जनाएको छ।
प्रशासन र आफन्तबीच वार्ता
तोडफोडपछि प्रतिष्ठान परिसरमा केही समय तनावको अवस्था बनेको थियो। त्यसपछि मृतकका आफन्त र प्रतिष्ठान प्रशासनबीच छलफल भएको थियो।
वार्तामा प्रतिष्ठानका निर्देशक इन्द्र लिम्बू, उपचारमा संलग्न चिकित्सक तथा नर्सलगायत सहभागी थिए।
आफन्तले राखेका मागका विषयमा प्रतिष्ठान प्रशासनका प्रमुख तथा सम्बन्धित पक्षसँग थप छलफल गर्ने सहमति भएको छ। यसका लागि दिउँसो २ः३० बजे पुनः वार्तामा बस्ने सहमति गर्दै तत्कालको छलफल टुंगिएको छ।
दीपिकाको मृत्युमा उपचारमा चिकित्सकीय लापरबाही भएको हो वा उनको जटिल स्वास्थ्य अवस्थाका कारण मृत्यु भएको हो भन्ने विषय छानबिनपछि मात्रै स्पष्ट हुने प्रतिष्ठानले जनाएको छ।
१४ आश्विन २०८३, बुधबार १३:५९