मेलम्ची — नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोकको मेलम्चीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। कांग्रेसको देउवा पक्षअन्तर्गतको महाधिवेशन तयारी समितिले स्थानीयस्तरका गतिविधिलाई समन्वय गर्न कार्यालय सञ्चालनमा ल्याएको हो।
मेलम्ची बजारमा स्थापना गरिएको कार्यालयको उद्घाटन कांग्रेस नेता तथा पूर्व प्रदेशसभा उम्मेदवार विकास तामाङले गरेका थिए। महाधिवेशनको तयारीसँगै पार्टीका संगठनात्मक कामलाई स्थानीय तहमा प्रभावकारी बनाउन कार्यालय उपयोग गरिने बताइएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का संयोजक प्रकाश बस्नेतसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो।
तयारी समितिका अनुसार कार्यालयबाट महाधिवेशनसँग सम्बन्धित सूचना तथा गतिविधि सञ्चालन गर्नुका साथै नेता–कार्यकर्ताबीच आवश्यक समन्वय गरिनेछ। महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन स्थानीयस्तरबाटै सक्रियता बढाउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको हो।
कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन संगठनभित्र सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा विभिन्न तहमा आन्तरिक गतिविधि तीव्र भइरहेका बेला मेलम्चीमा पनि तयारीका काम अघि बढाइएको हो।
१३ आश्विन २०८३, मंगलवार १२:०५