काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि फेला परेका शवको व्यवस्थापनमा समस्या भएपछि सरकारले पहिचान नभएका तथा बेवारिसे शवलाई सुरक्षित रूपमा जमिनमुनि राख्न थालेको छ। शवलाई ‘एयरटाइट ब्याग’मा राखेर निश्चित स्थानमा गाड्ने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा शवको अन्त्येष्टि गर्न लागिएको भन्दै विभिन्न सामग्री फैलिन थालेपछि नेपाल प्रहरीले भिडियो सन्देशमार्फत त्यसको खण्डन गरेको हो। प्रहरीले यो प्रक्रिया अन्त्येष्टि नभई अस्थायी शव व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ।
प्रहरीका अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शवलाई विशेष ब्यागमा राखेर सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको हो।
लामो समयसम्म शवलाई खुला वातावरणमा राख्दा कुहिने प्रक्रिया तीव्र हुने र त्यसबाट पानीका स्रोतलगायत अन्य माध्यमबाट संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। त्यसैले स्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन यस्तो व्यवस्था गरिएको हो।
प्रहरीले यो प्रक्रियालाई शवको अन्तिम संस्कारका रूपमा नबुझ्न आग्रह गरेको छ। भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिने गरी सुरक्षित रूपमा राखिएको प्रहरीको भनाइ छ।
शव व्यवस्थापन गर्दा प्रत्येक शवलाई छुट्टाछुट्टै कोड नम्बर प्रदान गरिएको छ। सो कोड जमिनमुनि र बाहिरसमेत राखिएको प्रहरीले जनाएको छ। साथै शव राखिएको स्थानको जीपीएस लोकेसन, फोटो, नक्सा तथा अन्य आवश्यक विवरण सुरक्षित रूपमा अभिलेख गरिएको छ।
यसरी अभिलेख राखिएकाले भविष्यमा सनाखत भएका शव सम्बन्धित परिवारले माग गरेमा व्यवस्थापन गरिएको स्थान पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने प्रहरीले जनाएको छ।
प्रहरीले विपद्को संवेदनशील अवस्थामा अपुष्ट सूचना तथा सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सामग्रीका आधारमा निष्कर्ष ननिकाल्न र आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ।
१४ भाद्र २०८३, आईतवार १९:३२