बनेपामा मोटरसाइकल दुर्घटना, ७२ वर्षीय पैदलयात्रीको मृत्यु

काभ्रे । काभ्रेको बनेपामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बनेपा नगरपालिका–७ का ७२ वर्षीय ज्ञानलाल मानन्धर रहेका छन्।

अरनिको राजमार्गअन्तर्गत उग्रचण्डी पेट्रोलपम्प नजिकै शनिबार साँझ दुर्घटना भएको हो। धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्ने क्रममा मानन्धरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। महाभारत गाउँपालिका–६ घर भई बनेपा–४ नालामा डेरा गरी बस्दै आएका २७ वर्षीय रविन घिसिङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनको उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२८ भाद्र २०८३, आईतवार १४:४२