काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। उनले सडकको बीचमा ट्राफिक प्रहरी जोखिम मोलेर उभिई हातको संकेतबाट मात्रै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थालाई क्रमशः हटाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा कार्कीले ट्राफिक व्यवस्थापनमा एआई प्रविधिसहितका स्मार्ट सीसीटीभीको प्रयोग विस्तार गर्नुपर्ने बताए। उनका अनुसार प्रविधिको प्रभावकारी प्रयोगबाट सवारी चाप व्यवस्थापनसँगै सडक सुरक्षालाई पनि व्यवस्थित बनाउन सकिन्छ।
उनले राजधानीमा बस स्टप, बसपार्क, पार्किङस्थललगायत सार्वजनिक यातायातसँग सम्बन्धित संरचनालाई योजनाबद्ध ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको बताए। त्यसका लागि काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
फुटपाथ र पार्किङ व्यवस्थापनमा जोड
महानिरीक्षक कार्कीले फुटपाथमा हुने अवरोध हटाउने, पार्किङलाई व्यवस्थित गर्ने तथा आपत्कालीन अवस्थामा उद्धार र प्रतिकार्यलाई छिटो बनाउन महानगर र प्रहरीबीच समन्वय आवश्यक रहेको बताए।
उनले राजधानीको जनसंख्या र सवारीसाधनको चाप निरन्तर बढिरहेको अवस्थामा सार्वजनिक स्थानको व्यवस्थापन, फोहोरमैला, वातावरण, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनजस्ता विषयमा पनि स्थानीय तह र प्रहरीबीच सहकार्य हुनुपर्ने उल्लेख गरे।
फोहोर व्यवस्थापनमा फोहोर उत्पादन हुने स्थानदेखि अन्तिम व्यवस्थापनसम्मै विभिन्न चुनौती रहेको भन्दै उनले दीर्घकालीन र प्रभावकारी समाधान खोज्नुपर्ने बताए।
स्थानीय तहले प्रहरीलाई सहयोग गर्नुपर्ने
कार्कीले स्थानीय तहले आफ्नो आवश्यकता र क्षमताअनुसार नेपाल प्रहरीलाई भौतिक पूर्वाधार तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन सहयोग गर्नुपर्ने बताए। प्रहरी कार्यालय निर्माण तथा मर्मत, जग्गा र भवनको व्यवस्था, सवारीसाधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने काममा स्थानीय तहको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, सुरक्षा निगरानीका लागि सीसीटीभी जडान तथा विस्तारमा पनि स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए। यसबाट नेपाल प्रहरी र स्थानीय तहअन्तर्गतका सुरक्षा संयन्त्रबीचको समन्वय थप मजबुत हुने अपेक्षा उनले व्यक्त गरे।
७५३ स्थानीय तहसँग समन्वयको प्रयास
नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य बढाउन ७५३ वटै स्थानीय तहसँग समन्वयको प्रयास भइरहेको कार्कीले जानकारी दिए।
उनका अनुसार गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई नेपाल प्रहरीसँग आवश्यक समन्वय गर्न पत्राचार भइरहेको छ।
महानिरीक्षक कार्कीले प्रहरीको सुरक्षा संरचना बलियो बनाउन सुरक्षाकर्मीका लागि आवास, यातायात तथा अन्य आवश्यक स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए।
उनले महानगरपालिकाले नागरिकलाई सफा सडक र अवरोधरहित फुटपाथ उपलब्ध गराउन गरिरहेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीले संयुक्त रूपमा थप योजनाबद्ध काम गर्नुपर्ने बताए।
विशेषगरी ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन, पार्किङ तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने दिशामा सहकार्यलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
२८ भाद्र २०८३, आईतवार १४:३९