काठमाडौं — धादिङको कृष्णभिरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीका लागि तीनवटा वैकल्पिक मार्ग तोकिएका छन्। सडक बन्द हुँदा मकवानपुर हुँदै राजधानी आवतजावत गर्ने सवारीको चाप बढेकाले प्रशासनले सवारीलाई फरक–फरक रुट प्रयोग गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक कामबाहेक तत्काल काठमाडौं यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अत्यधिक सवारी चापका कारण वैकल्पिक सडकमा समेत आवागमन प्रभावित हुन सक्ने भन्दै प्रशासनले यात्रामा सावधानी अपनाउन भनेको छ।
प्रशासनले सवारीको प्रकृति र क्षमताअनुसार निम्न रुट प्रयोग गर्न व्यवस्था मिलाएको छ।
- मालबाहक सवारी: कान्ती लोकपथ हुँदै काठमाडौं आवतजावत गर्ने।
- १४ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारी: त्रिभुवन राजपथ प्रयोग गर्ने।
- १४ सिटसम्मका यात्रुबाहक सवारी: भीमफेदी–देउराली हुँदै काठमाडौं जाने–आउने।
वैकल्पिक मार्गमा सवारीको चाप बढेकाले चालक तथा यात्रुलाई धैर्य र अनुशासन कायम राख्न प्रशासनले आग्रह गरेको छ। ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत भनिएको छ।
यसैबीच, पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोको अवस्थाबारे सडक विभागले प्राविधिक अध्ययन गरिरहेको छ। पहिरोको प्रकृति, सडकमा पुगेको क्षति र पुनर्निर्माणका लागि आवश्यक कामको मूल्यांकनपछि मात्रै राजमार्ग कहिले सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्ने विभागले जनाएको छ।
कृष्णभिर क्षेत्र यसअघि पनि पहिरोका कारण पटक–पटक प्रभावित हुँदै आएको थियो। पछिल्लो अवरोधपछि भने काठमाडौंको मुख्य सडक सम्पर्कमा पुनः गम्भीर असर परेको छ।
१४ भाद्र २०८३, आईतवार १९:३८