पाँचपोखरी टी–ट्वान्टीमा अनौठो संयोग ः एउटै प्रतियोगितामा तीन बुबा र तीन छोराको सहभागिता

जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्लास्तरीय पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आठौं संस्करण खेलप्रेमीका लागि केवल प्रतिस्पर्धात्मक खेलमात्र नभई प्रेरणादायी पारिवारिक सम्बन्धको उदाहरणसमेत बनेको छ। तल्लो मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी बनेपछि प्रतियोगिता विशेष चर्चाको विषय बनेको हो।

क्रिकेटप्रतिको समर्पण, अनुभव र नयाँ पुस्ताको उत्साहलाई एकै मैदानमा देख्न पाइने दुर्लभ अवसर यस प्रतियोगिताले प्रदान गरेको छ। बुबाले क्रिकेटमार्फत बनाएको पहिचान र यात्रालाई छोराहरूले निरन्तरता दिइरहेका दृश्यले दर्शकहरूलाई भावुक बनाएको छ।

जिल्ला क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजयकुमार घिताल र उनका छोरा सार्थक घिताल यसका प्रमुख उदाहरण हुन्। बागमती प्रदेश यू–१६ टोलीका कप्तान तथा सिन्धुपाल्चोक यू–१९ टोलीका कप्तानसमेत रहेका सार्थकले सानै उमेरदेखि क्रिकेटमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका छन्। बुबा विजयकुमार जिल्लाको क्रिकेट विकासमा सक्रिय रहँदा छोरा सार्थक मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत आफ्नो पहिचान स्थापित गरिरहेका छन्।

त्यसैगरी जिल्ला क्रिकेट संघका सचिव तथा प्रशिक्षक अजयकुमार घिताल र उनका छोरा आदित्य घितालको यात्रा पनि प्रेरणादायी छ। खेलाडीका रूपमा सुरु भएको अजयकुमारको क्रिकेट यात्रा अहिले प्रशिक्षकको भूमिकासम्म पुगेको छ भने छोरा आदित्य मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका छन्।

यस्तै अनिल तामाङ र उनका छोरा अरबमान तामाङ पनि फरक टोलीबाट प्रतियोगितामा सहभागी छन्। बुबा अनिल पाँचपोखरी हिमालयन क्रिकेट क्लब भोटाङबाट खेलिरहेका छन् भने छोरा अरबमान पाँचपोखरी क्रिकेट क्लबबाट आफ्नो खेल कौशल प्रस्तुत गरिरहेका छन्। फरक टोलीमा रहे पनि दुवैको लक्ष्य क्रिकेटप्रतिको लगाव र समर्पणलाई अझ मजबुत बनाउनु रहेको छ।

पाँचपोखरी थाङपाल गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने यी तीन बुबा–छोरा जोडीले खेलकुदले पुस्ता जोड्ने, प्रेरणा दिने र सम्बन्धलाई बलियो बनाउने सन्देश दिएका छन्। प्रतियोगितामा उनीहरूको उपस्थितिले क्रिकेट केवल खेल मात्र नभई परिवार, संस्कार र सपनाको निरन्तरता पनि हो भन्ने सन्देश प्रवाह गरेको छ।

पाँचपोखरी टी–ट्वान्टीको मैदानमा देखिएको यो दृश्यले खेलकुदले सिर्जना गर्ने भावनात्मक सम्बन्ध र पुस्तान्तरणको महत्वलाई उजागर गरेको छ। यसले क्रिकेटलाई केवल प्रतिस्पर्धाभन्दा माथि उठाएर परिवार र समुदायलाई जोड्ने माध्यमका रूपमा स्थापित गरेको सहभागी तथा दर्शकहरूको भनाइ छ।

२ असार २०८३, मंगलवार १२:५०