जल्बिरे नजिकको पहिरो जोखिमप्रति स्थानीयको चिन्ता बढ्दो, दीर्घकालीन समाधानको माग

जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिकाअन्तर्गत तेम्बाथाङ सडक खण्डको जल्बिरे नजिक रहेको ठूलो लेदोयुक्त पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन्। वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी रोकथाम तथा दीर्घकालीन समाधानको माग गरेका छन्।

स्थानीयका अनुसार गत वर्ष यही क्षेत्रमा आएको पहिरो तथा बाढीले दुई बालबालिकाको ज्यान गएको थियो। त्यसयता वडा कार्यालय र स्थानीय तहले आफ्नो क्षमताअनुसार केही नियन्त्रणका प्रयास गरे पनि पहिरोको जोखिम अझै कायम रहेको उनीहरूको भनाइ छ।

पहिरो सडकभन्दा माथिल्लो भागमा रहेको र सयौं ट्रक बराबरको लेदोयुक्त माटो जमेर बसेकाले जुनसुकै बेला ठूलो परिमाणमा खस्न सक्ने जोखिम रहेको स्थानीयको दाबी छ। यसले जल्बिरे बजार, शेरा क्षेत्र, सडक तथा आसपासका बस्तीलाई समेत उच्च जोखिममा पार्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले पालिका, प्रदेश सरकार तथा संघीय सरकारका जनप्रतिनिधिलाई पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार विपद् जोखिम न्यूनीकरणका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सर्वसाधारणले असुरक्षित वातावरणमा बस्न बाध्य हुनुपरेको छ।

स्थानीयवासीले सम्बन्धित निकायलाई भूगर्भीय अध्ययन गरी पहिरो नियन्त्रणका लागि तत्काल आवश्यक संरचना निर्माण, जोखिममा रहेका बस्तीको सुरक्षा तथा सडकको दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।

वर्षायाम अझै बाँकी रहेकाले समयमै आवश्यक कदम चाल्न नसकिए जल्बिरे बजार र आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित सबै निकायलाई गम्भीर बन्न अपिल गरेका छन्।

२ श्रावण २०८३, शनिबार १३:५९