डाक्लाङ सडकको दुरवस्थाः स्थानीय, पर्यटक र मालवाहक कन्टेनर मारमा

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४डाक्लाङ क्षेत्रमा रहेको करिब ४ किलोमिटर सडक खण्डको दयनीय अवस्थाका कारण स्थानीय बासिन्दा, पर्यटक तथा तातोपानी नाकाबाट आवतजावत गर्ने मालवाहक कन्टेनरहरू गम्भीर समस्यामा परेका छन्। सडक बिग्रिएपछि दैनिक आवागमन अत्यन्तै कष्टकर बनेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार अरनिको राजमार्गभन्दा तल भोटेकोशी नदी नजिक हाइड्रोपावर आयोजनाले निर्माणका क्रममा हेभी मेसिन प्रयोग गरेर ढुंगा निकालेपछि सडक थप कमजोर बनेको हो। वर्षायाममा सडक हिलाम्मे, जोखिमपूर्ण र अवरुद्ध हुने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ। यसले सवारी साधन सञ्चालन मात्र होइन, पैदल यात्रुहरूलाई समेत जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था आएको छ।

यो सडक हुँदै तातोपानी भन्सारबाट भन्सार सिल लगाएर काठमाडौंतर्फ गन्तव्य बनाएका कन्टेनरहरू समेत लामो समयसम्म रोकिँदा ढुवानीमा असर परेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोडिएको डाक्लाङ, इको पहिरो लगाएतका ठाँउहरुमा पहिरो जाँदा यस मार्गमा अवरोध हुँदा व्यापार, राजस्व संकलन तथा आपूर्ति प्रणालीमा समेत प्रभाव पर्ने देखिएको छ। अरनिको राजमार्ग यस क्षेत्रको प्रमुख व्यापारिक मार्ग भएकाले यसको नियमित मर्मत र संरक्षण आवश्यक रहेको सरोकारवालाले बताउँदै आएका छन्।

स्थानीय बासिन्दाले सडकको तत्काल मर्मत, जोखिमयुक्त भागमा संरक्षण कार्य तथा हाइड्रोपावर आयोजनाबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने माग गरेका छन्। उनीहरूले सडक विभाग, स्थानीय सरकार तथा सम्बन्धित आयोजनालाई शीघ्र पहल गरी आवागमन सहज बनाउन आग्रह गरेका छन्।

यदि समयमै मर्मत तथा व्यवस्थापनको काम अघि नबढाइए स्थानीय जनजीवन, पर्यटन गतिविधि र तातोपानी भन्सार हुँदै हुने व्यापार थप प्रभावित हुने स्थानीयको चेतावनी छ। हाल सडक प्रयोग गर्ने सर्वसाधारणले उच्च सतर्कता अपनाएर यात्रा गर्नुपर्ने अवस्था रहेको छ।

२ श्रावण २०८३, शनिबार १४:२२