श्रीमती हत्या आरोपमा फरार दुई श्रीमान पक्राउ

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक प्रहरीले छुट्टाछुट्टै श्रीमती हत्या घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा भएका दुई घटनाका आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको हो।

प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडा तल्लो भण्डारी टोलका ४३ वर्षीय मीनबहादुर भण्डारीले आफ्नी ४० वर्षीया श्रीमती मिना राना मगरको घरभित्र हत्या गरी फरार भएका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले निरन्तर खोजतलास र प्राविधिक विश्लेषणका आधारमा मेलम्ची नगरपालिका–११ स्थित मेलम्ची बजारबाट उनलाई पक्राउ गरेको हो। पक्राउपछि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै बलेफी गाउँपालिका–८ का ५५ वर्षीय सोमबहादुर तामाङले आफ्नी ५४ वर्षीया श्रीमती धनमाया तामाङलाई फलामको रडले प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ। उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र हुँदै नेपाल मेडिकल कलेज, जोरपाटी लगिएकी धनमायाको उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका सोमबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहतको इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी वृत्त बौद्ध, काठमाडौंको संयुक्त टोलीले नेपाल मेडिकल कलेज, जोरपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध पनि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दुवै घटनाका आरोपितलाई कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा ल्याइएको र घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

२ श्रावण २०८३, शनिबार १४:०५