दुना–टपरीका लाफा गाँस्ने सम्बन्धी सीप विकास तालिम उद्घाटन


जनतापत्र सिन्धुपाल्चोक ।

सुनकोशी गाउँपालिकाको आयोजनामा नयाँ उद्यमी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तीन दिने दुना–टपरीका लाफा गाँस्ने सम्बन्धी सीप विकास तालिम उद्घाटन गरिएको छ। तालिम आज गाउँपालिकाका प्रवक्ता ईश्वर तिमल्सिनाको अध्यक्षतामा तथा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुखको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।


स्थानीय स्तरमै उपलब्ध वनजन्य स्रोतको सदुपयोग गर्दै स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। तालिममार्फत सहभागीहरूलाई दुना–टपरी निर्माण, लाफा गाँस्ने सीप, उत्पादन व्यवस्थापन तथा बजार सम्भावनाबारे व्यवहारिक ज्ञान प्रदान गरिनेछ।
कार्यक्रममा बोल्दै वक्ताहरूले प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री वस्तुको उत्पादन र प्रयोगलाई प्रवर्द्धन गर्न यस्ता तालिम महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले स्थानीय स्रोत र सीपलाई उपयोग गरेर आयआर्जनका अवसर सिर्जना गर्न सकिनेमा जोड दिएका थिए।
डिभिजन वन कार्यालयका प्रमुखले वनजन्य स्रोतको संरक्षणसँगै त्यसको दिगो उपयोगमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्न सकिने उल्लेख गरे। उनले वातावरण संरक्षण र उद्यमशीलता विकासलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको बताए।
तालिममा गाउँपालिकाभित्रका विभिन्न वडाका सहभागीहरूको उत्साहजनक सहभागिता रहेको छ। सहभागीहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर घरेलु तथा साना उद्योगमार्फत आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

१३ जेष्ठ २०८३, बुधबार ११:३४